काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन्
उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’
अध्यादेशको बलमा शासन चलाउन खोजेर संसद विघटन गर्न उद्धत भएको उनको आरोप थियो । प्रधानमन्त्री ओलीलाई संसद विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको पनि उनले जिकिर गरे । संविधान संशोधनका नाममा काँग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको सापकोटाको तर्क थियो ।
सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको जिकिर छ । सरकार असफल साबित भएको टिप्पणी गर्दै सापकोटाले अहिले संसद कामविहीन देखिएको बताए ।