दुई वा दुई व्यक्ति र संगठनबिच विचार र व्यवहारमा हुने फरकपनाका कारण मनोमालिन्यता सृजना भएको अवस्था नै द्वन्द्व हो। द्वन्द्व संगठनभित्र र संगठन बाहिर दुवै तहमा हुने गर्दछ। द्वन्द्व राजनीतिक,प्रशासनिक,धार्मिक सांस्कृतिक,मनोविज्ञान र आर्थिक कारणबाट देखा पर्दछ। जुनसुकै कारणबाट द्वन्द्व देखा परेता पनि त्यसको सही व्यवस्थापन गर्न सकियो भने त्यो सिर्जनात्मक हुन्छ। तर व्यवस्थापन गर्न सकिने भन्दा ठुलो द्वन्द्वले विध्वंस ल्याउँछ।
नेपालमा निजामती सेवा ऐन बमोजिम तोकिएका नेपाल प्रशासन सेवा, इन्जिनियरिङ सेवा, बन सेवा, लेखा परीक्षण, न्याय सेवा, कृषि सेवा, शिक्षा सेवा, परराष्ट्र सेवा, आर्थिक योजना तथा तथ्याङ्क सेवा,नेपाल विविध सेवा गरी १० वटा सेवा र छुट्टै ऐनद्वारा व्यवस्थित नेपाल संसद सेवा र स्वास्थ्य सेवा गरी १२ वटा सेवामा स्थायिर करार गरी डेढ लाख भन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।विविधताले भरिएको निजामती परिवारमा द्वन्द्वको उपस्थिति हुनु स्वभाविक हो।
नेपालको निजामती सेवामा हुने द्वन्द्वका परिदृष्यः
· केही निजामती कर्मचारीहरू भौगोलिक हिसाबले दुर्गम र आर्थिक हिसाबले दुर्बल स्थान र अड्डामा काम गर्नुपर्ने बाध्यता र केही कर्मचारी भौगोलिक हिसाबले सुगम र आर्थिक हिसाब अब्बल अड्डामा बसिरहने बिचको विभेदले द्वन्द्व सिर्जना गरेको छ।
· संगठन भित्र हाकिमलाई रिझाउने,चाप्लुसी गर्ने हाकिमको प्यारो बन्न सहकर्मीको कुरा लगाउने र दुनियाँको मतलब नगरी काममा रमाउने बिचमा द्वन्द्व रहेको छ।
· ट्रेड युनियनको नाममा नेता बनी मै हुँ भन्ने र मोफसलमा बसेर आम रूपमा रहने थाङ्ने कर्मचारी बिच द्वन्द्व रहेको छ।
· राजनीतिक दलको झण्डा बोकी उनैको गुणगान गाउने र त्यस्तो नगर्नेबिच द्वन्द्व रहेको छ।
· विभिन्न सेवा समूहबिच तँ राम्रो की म राम्रो भन्ने द्वन्द्व रहेको छ।
· विभिन्न सरकारी सेवाका कर्मचारीको मर्यादाक्रम र मर्यादा क्रमअनुसार वेतन कायम नभएको भन्ने द्वन्द्व रहेको छ।
· पैसा कमाउने र नकमाउने बिचमा द्वन्द्व रहेको छ।
· ठुलो पदका कर्मचारीले साना पदका कर्मचारीलाई विभेद गरेका कारण द्वन्द्व देखा पर्ने गरेको छ।
· विभिन्न भाषा,धर्म,संस्कृति ,समुदायको उपस्थिति बढ्दै जाँदा उनीहरूको विचार,सिद्धान्त,व्यवहार,संस्कारमा भएको फरकपनाले द्वन्द्व सिर्जना गरेको छ।
नेपालमा द्वन्द्व व्यवस्थापनको अवस्था
नेपालको निजामती सेवामा द्वन्द्वलाई द्वन्द्व व्यवस्थापनको परम्परागत उपागमको आधारमा विश्लेषण गर्ने गरिन्छ । कुनै पनि समय, अवस्था, परिस्थिति र मूल्यमा संगठनमा द्वन्द्व जन्मलाई वैधानिकता दिनु हुँदैन भन्ने मान्यता हाबी रहेको छ । द्वन्द्व अनावश्यक भन्ने संस्कारमा विकसित हुँदै गएको निजामती सेवामा यसैका कारण द्वन्द्व व्यवस्थापनबाट आर्जन गर्न सकिने लाभको उपयोग हुन सकेको छैन । फलतः द्वन्द्व भूसको आगो झैँ भित्र भित्रै सल्किरहेको छ । संगठनको प्रभावकारिता, कर्मचारीको कार्यकुशलता, उत्पादकत्व र उत्प्रेरणाको स्तर न्यून बनिरहेको छ ।
निजामती सेवाको कार्यक्षेत्र, राजनीतिज्ञ र प्रशासकबिचको अन्तरसम्बन्ध, सामयिक वृत्ति विकास प्रणाली, सुविधा वितरणमा हुने गरेको अनियमितता, नातावाद, कृपावाद, अविवेकी नियन्त्रण प्रणाली, वेतनमानको असमानता जस्ता द्वन्द्वका जराहरू निजामती सेवामा खुल्ला किताब झैँ रहेका छन् । उपरोक्त प्रकारका द्वन्द्वका आधारहरू रहेता पनि द्वन्द्व व्यवस्थापन प्रभावकारी रूपमा नगरिने प्रवृत्तिले स्वास्थ्य प्रकृतिको द्वन्द्वलाई अवसरमा बदल्न र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न द्वन्द्व व्यवस्थापन गर्ने संस्कारको विकास नहुनाले नै द्वन्द्व व्यवस्थापन प्रणाली नेपालको निजामती सेवामा अभावको रूपमा सधैँ खट्किरहेको छ ।
निजामती सेवामा द्वन्द्व व्यवस्थापनका लागि भएको व्यवस्थाहरु
· नेपालको संविधान-निजामती कर्मचारीलाई विभागीय कारबाही गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था रहेको।
· निजामती सेवा ऐन,२०४९ र नियमावली २०५०-बढुवा सम्बन्धी व्यवस्था,तलब पुनरावलोकन सीमित,बढुवामा उजुरी सुन्ने व्यवस्था,ट्रेड युनियनसम्बन्धी व्यवस्था।
· गुनासो सुनुवाइ निर्देशिका २०६३-गुनासो व्यवस्थापन प्रणालीलाई संस्थागत गर्ने,गुनासो समयमै फर्स्यौट गर्ने,निजामती सेवालाई उच्च मनोबलयुक्त बनाउने
· मुख्यसचिवको अध्यक्षतामा केन्द्रिय गुनासो व्यवस्थापन समिति,सचिवको अध्यक्षतामा मन्त्रालयगत समिति र कार्यालय प्रमुखको अध्यक्षतामा कार्यालयस्तरिय गुनासो व्यवस्थापन समिति
· प्रशासकीय अदालतको व्यवस्था गरिएको,
नेपालको निजामती सेवामा द्वन्द्व व्यवस्थापन प्रभावकारी हुन नसक्नुका कारणहरू
- प्रशासन र राजनीतिबिचको मिलन योग्य र कार्यान्वयनशील आदर्श रेखा कोर्न सक्ने कानुनी व्यवस्था र आचरणको कमी।
- संगठनात्मक दोहोरोपना कायम रहनु,
- सरुवा,बढुवा प्रणाली अनुमानयोग्य र स्पष्ट हुन नसक्नु
- विभिन्न जात, जाती, धर्म, विचार र सम्प्रदायको उपस्थिति,
- ईमान्दारिता,मानवता भन्दा हाकिमी र शासकीय शैलीको उपस्थिति हुनु,
- परिवर्तनशीलता र प्रगतिशीलताको कमी हुनु,
- विश्वासिलो दण्ड र पुरस्कारको पर्याप्त लागु हुन नसक्नु,
- स्रोत र साधनको अभाव हुनु, र भएको स्रोत साधनको उचित वितरण हुन नसक्नु।
- विधि, कानुन र प्रक्रियाको संरक्षणमुखी हस्तक्षेप हुनु,
- अनौपचारिक सङ्गठनलाई मान्यता नदिनु,
- द्वन्द्वलाई व्यवस्थापन गर्न वा समायोजन गर्न प्रशासनिक नेतृत्वमा क्षमता र सिपको कमी हुनु,
- राजनीतिक एवं प्रशासनिक नेतृत्व, परिवर्तनको संवाहक हुन नसक्नु,
- प्रभावकारी सूचना प्रणालीको न्यूनता हुनु,
- प्रशासकीय कार्य प्रक्रिया तथा जिम्मेवारीको बाँडफाँड नियमसँग बन्न नसक्नु, आदी ।
- निहित स्वार्थ केन्द्रित कार्य शैली,
- सामूहिक भन्दा एकल निर्णयमा रमाउने संस्कृति,
- निर्णय प्रक्रियामा अस्वभाविक हस्तक्षेप हुनु।
नेपालको निजामती सेवामा रहेको द्वन्द्व व्यवस्थापन कसरी गर्ने ?
Ø सहभागितामूलक निर्णय प्रक्रिया,
Ø कानुनी र संरचनागत व्यवस्था गर्ने
Ø राजनीतिक र प्रशासनको अधिकारहरू प्रष्ट विभाजन गर्ने।
Ø राजनीतिक र प्रशासनिक नेतृत्वलाई द्वन्द्व व्यवस्थापन का सिप विकास गर्ने।
Ø सदाचार र नैतिकताको विकास गर्ने,
Ø स्रोतसाधनको पर्याप्त वितरण
Ø उत्प्रेरणाका साधनहरूलाई समान रूपमा वितरण गर्ने।
Ø पारदर्शी कार्यशैलीको विकास गर्ने।
Ø पद र तह अनुसार कार्यबिभाजन ,
Ø दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयन गर्ने
Ø बस्तुनिष्ठ आधारमा कार्यसम्पादन मुल्याङ्कन गर्ने पद्धतिको विकास।
Ø आत्मानुशासनको जागृति
Ø योग र ध्यान
द्वन्द्व व्यवस्थापनले द्वन्द्वलाई सिर्जनशील नतिजामा पुर्याउने कलालाई जनाउँछ। द्वन्द्वलाई सही तरिकाले नियन्त्रण र व्यवस्थापन गर्न सकियो भने त्यसले संगठन र राज्यलाई प्रगतिशील बाटोमा लैजाने गर्दछ।अन्यथा विध्वंस ल्याउँदछ।निजामती सेवामा पनि तमाम द्वन्द्व रहेका छन।यद्यपि द्वन्द्व व्यवस्थापन गर्ने मसिनमा फोहोर लागेको छ। अर्थात् द्वन्द्व व्यवस्थापन नेपालको निजामती सेवामा प्राथमिकतामा परेको छैन। सोही कारण निजामती सेवामा भ्रष्टाचार मौलाएको,सन्तोषजनक कार्यसम्पादन हुन नसकेको, नातावाद कृपावाद हाबी भएको, काममा लजाउने र सुविधामा रमाउने प्रवृत्ति हाबी भएको, चाकडीतन्त्रको रजगज भएको, नातावाद र कृपावाद हाबी भएको, निर्णयमा अनावश्यक हस्तक्षेप हुने गरेको, दलाली करणको उपस्थिति देखिएको,राजनीति र प्रशासन बिचको विवाद ज्यूका त्युँ रहन पुगेको समग्रमा उत्पादकत्वमा ह्रास आएको छ।त्यसैले हामीले चाहेको सुशान कायम गर्न, ईमान्दार नैतिकतायुक्त निजामती सेवाको विकास गर्न निजामती सेवामा रहेको द्वन्द्व व्यवस्थापनमा राज्यले ध्यान दिनु जरुरी छ।