काठमाडौँ। नेपाली काँग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक बोलाएको छ ।
मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बागमती प्रदेशका काँग्रेस मुख्यसचिव राजु नेपालले सूचना जारी गरेका छन् । शनिबार दिउँसो २ बजे बस्ने बैठक बस्ने भएको छ ।
काँग्रेसको विधान अनुसार नगरको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिले तोक्ने व्यवस्था छ । प्रदेश संसदीय समितिमा प्रदेशका सभापति, दुई उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, ३ जना सहमहामन्त्री र ९ जना सभापतिले तोकेका व्यक्ति हुने व्यवस्था छ ।
कीर्तिपुरको प्रमुखको पदका लागि ११ जनाको नाम सिफारिस भएर प्रदेश संसदीय समितिमा आएको छ । सिफारिस हुनेहरूमा कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन्।
काँग्रेसका बागमती प्रदेशका एक पदाधिकारीका अनुसार तीन जनाको नाम चर्चामा छ । उनका अनुसार कृष्णमान डंगोल, हिमाल कार्की र जमुना नकर्मी मुख्य प्रतिस्पर्धीमा देखिएका छन् ।