बिहानको झिसमिसेदेखि मध्यरातसम्म प्रधानमन्त्री कार्यालय सिंहदरवारदेखि उनको सरकारी निवास बालुवाटारसम्म जहाँ पनि उत्तिकै सक्रिय भेटिने निजी सचिव विनोद कुँवरसँग एउटा मोटो डायरी कहिल्यै छुट्दैन । आखिर के छ उनको त्यो डायरीभित्र ?
काठमाडौँ । प्रधानमन्त्री अर्थात् देशका प्रमुख कार्यकारी । जिम्मेवारीका हिसाबले मुलुककै सर्वाधिक महत्त्वपूर्ण व्यक्ति । नेपालमा यिनै व्यक्तिको कार्यभार सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । प्रमुख कार्यकारीको जिम्मेवारी भनेको देशको समग्र प्रशासनिक कामकाजलाई सुचारु गर्नेदेखि नागरिकका गुनासोको सम्बोधन गर्नेसम्म हुन्छ । यस्तो चुनौतीपूर्ण वातावरणमा प्रधानमन्त्रीको निजी सचिवालयको भूमिका झन् महत्त्वपूर्ण हुन्छ ।
पछिल्लो समय जोसुकै प्रधानमन्त्री आउँदा पनि दोस्रो दिनबाटै आलोचना शुरु हुन थाल्छ । प्रतिपक्ष मात्र होइन, सत्तासीन पक्ष र कार्यकर्ताहरूबाटै असन्तुष्टिका आवाजहरू सुनिन थाल्छन् । बिस्तारै आम नागरिकसम्म फैलिँदै ती असन्तुष्टिहरूले विकराल रूप लिन्छन् र देशभरि आलोचनाहरूका चाङ लगभग पहाड बनेर प्रधानमन्त्रीसामु उभिइदिन्छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गरौँ । समकालीन राजनीतिमा पहिलो स्थानमै आउने ओली सत्तामा रहँदा होस् या सत्ता बाहिर बस्दा, जहिल्यै चर्चामै रहे । आफ्नै शैली र प्रस्तुतिका कारण पनि उनी चर्चाको शिखरमा रहिरहन्छन् । तिनै प्रधानमन्त्री ओलीको निजी सचिवालय सम्हालिरहेका छन् सहसचिव विनोदबहादुर कुँवरले । कुँवर एकाबिहानैदेखि मध्यरातसम्मै कति बेला सिंहदरवार त कति बेला बालुवाटार दौडिइरहेका भेटिन्छन् । मोटो डायरी बोकेर कुदिरहने उनी सिंहदरवारदेखि बालुवाटारसम्मै त्यो डायरीमा केही न केही टिपिरहन्छन् ।
कुँवरको दैनिकी केवल कागजी काममा सीमित छैन । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय र जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै नीतिगत निर्णयहरूको कार्यान्वयन सुनिश्चित गरिरहेका छन् । उनको डायरीमा के कस्ता विषयहरू समावेश छन् त ? के–के छन् प्रधानमन्त्रीका निजी सचिवको डायरीमा ? यसबारे जान्न धेरैलाई जिज्ञासा हुनु स्वाभाविक हो । यिनै जिज्ञासा मेटाउन प्रशासन डटकमले लामै प्रयास गर्यो । विभिन्न मन्त्रालयहरूले सरकारका सय दिनका प्रगति विवरण पेश गरिरहँदा प्रधानमन्त्रीका सचिवालय सदस्य कुँवरको पछिल्लो टिपोटमा विभिन्न तीन दर्जन जति विषयहरू समावेश रहेछन् जसमध्ये हामीले केही प्रमुख विषयहरूलाई यहाँ समेटेका छौँ ।
सार्वजनिक सेवामा सुधार
प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै सार्वजनिक सेवाको गुणस्तर सुधार गर्ने पहललाई प्राथमिकतामा राख्दै आएका छन् । देशभर नागरिकले पाउनुपर्ने सरकारी सेवामा ढिलासुस्ती, फजुल खर्च र भ्रष्टाचारका कारण सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आइरहेको सन्दर्भमा सार्वजनिक सेवामा सुधार गर्ने विषयलाई प्रधानमन्त्रीका निजी सचिव कुँवरले पहिलो नम्बरमा टिपोट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका तर्फबाट नागरिकका गुनासोहरूको सम्बोधन गर्न विशेष पहल गरिरहेका भेटिने कुँवर ती गुनासाहरूलाई समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा रहेको र यसलाई समयमै सम्बोधन गर्न विभिन्न मन्त्रालयहरूसँग समन्वय गरिरहेका हुन्छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता
प्रधानमन्त्रीका निजी सचिव कुँवरको डायरीमा समावेश एउटा महत्त्वपूर्ण विषय सार्वजनिक खर्चमा मितव्ययिता हो । सरकारी ढिलासुस्ती र फजुल खर्चले नागरिकमा असन्तोष बढेको गुनासोसँगै कुँवरले फजुल खर्च नियन्त्रण गर्न र सरकारी सेवामा मितव्ययिता कायम गर्न विभिन्न नीति तथा प्रक्रियाहरू लागू गर्न प्रधानमन्त्रीले विभिन्न समयमा दिएका निर्देशनहरूको पालनाबारे झकझक्याइरहेका हुन्छन् । विशेष गरी, प्रधानमन्त्री कार्यालयले यो विषयलाई लिएर सघन अनुगमन गरिरहेको छ । र, त्यसलाई प्रत्येक मन्त्रीका निजी सचिवमार्फत होस् या जिम्मेवार अधिकारीहरूलाई बोलाएर किन नहोस्, फजुल खर्च घटाउन भनिरहेका भेटिन्छन् ।
प्रविधिको प्रयोग र सुधार
कुँवरको डायरीमा समावेश अर्को महत्त्वपूर्ण विषय भनेको सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने हो । हालसालै प्रधानमन्त्रीको कार्यालयबाट शुरु भएका विभिन्न प्रविधिमैत्री योजनाहरूले नागरिकलाई सेवा प्राप्त गर्न सहजता ल्याएको भन्दै सबै सरकारी निकायहरूले प्रविधिमार्फत नागरिकलाई सेवा सहज बनाउन लागिपरेका देखिन्छन् । नागरिक एपहरूको प्रभावकारिता, राष्ट्रिय परिचयपत्र वितरणमा तीव्रता र डिजिटल माध्यमबाट सेवा प्रवाह गर्ने प्रधानमन्त्री ओलीको प्रयासलाई साकार पार्ने विषय पनि कुँवरको डायरीमा प्राथमिकताका साथ टिपोट गरिएको भेटियो । जसका लागि सम्बद्ध निकायमा फलोअप गरिरहेका कुँवरले प्रगतिबारे नियमित रूपमा प्रधानमन्त्रीलाई जानकारी गराइरहन्छन् ।
सरकारी सेवा प्रवाहमा सुधारको प्रयास
पछिल्लो समय हरेक सरकारले सामना गर्नु परिरहेको विषय हो सेवा प्रवाह । विशेष गरी नागरिकहरू दैनिक रूपमा ठोक्किने गरेका यातायात, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय जस्ता निकाय मात्र होइन, शिक्षा र स्वास्थ्य सम्बन्धी सेवाका क्षेत्रमा हुने गरेका ढिलासुस्ती हटाउने विषय प्रधानमन्त्री ओलीले विशेष प्राथमिकतामा राखेका छन् । उनले मुख्यसचिव नियुक्तिसँगै सेवा प्रवाह सुधारका क्षेत्रहरूसमेत जोडेर बधाई दिएका थिए । तिनै विषयहरूलाई कुँवरले नियमित फलोअप गर्दै आएका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा रहेका अनियमितताहरू हटाउन विद्युतीय प्रणालीको प्रयोग, लाइसेन्स परीक्षणमा कडाइ र यातायात व्यवस्थापनमा सुधार ल्याउन उनी निरन्तर लागिपरेका देखिन्छन् । यद्यपि फरक–फरक निकायहरूको जिम्मेवारीभित्र पर्ने भएकाले के कति हदसम्म नागरिकलाई सहजता प्रदान गर्न सकियो त्यो फरक पाटो हो । तर घचघच्याउन भने छाडिएको छैन ।
सडकको मर्मत सम्भारको विषय पनि कुँवरको डायरीमा समेटिएको छ । देशभर सडक चुस्त दुरुस्त राख्नेदेखि उपत्यकालगायत शहरी क्षेत्रहरूमा खाल्डाखुल्डीहरूको मर्मत गर्न तत्काल गर्ने विषयमा सम्बद्ध निकायका अधिकारीहरूलाई निरन्तर भनिरहेका हुन्छन् । यसले यात्रुहरूको सुरक्षा र सहजता प्रदान गर्नुका साथै सडक संरचनाको दीर्घकालीन दिगोपन कायम गर्न मद्दत पुर्याउने उनको विश्वास छ ।
भर्खरै सकिएको नेपालीको ठूलो चाड दशैँको मुखमा आएको बाढी, पहिरो र त्यसले सर्वत्र पुर्याएको क्षतिलगायत सडक सुचारु राख्न कुँवरले सम्बद्ध निकायहरूसँग राम्रै समन्वयको भूमिका निर्वाह गरे । जसका कारण यसअघि झैँ समस्या झेल्नु परेन । नागरिकहरू सहजै आवतजावत गर्न सके ।
कर्मचारी सरुवा व्यवस्थापनमा सुधार
सरुवा व्यवस्थापनमा देखिएका अनियमितता र ढिलासुस्तीका गुनासाहरू सम्बोधन गर्नका लागि कुँवर सुधारात्मक कदम चाल्न लागिपरेका छन् । आम कर्मचारी र नागरिकमा देखिएको असन्तोष कम गर्न र सेवा प्रवाहलाई सुचारु बनाउन के कस्ता उपाय अपनाउन सकिन्छ र सरुवालाई कसरी विवादरहित बनाउन सकिन्छ भन्नेमा कुँवरको जहिल्यै चासो रहेको देखिन्छ । अन्यायमा परेका कर्मचारीहरूलाई सकेसम्म न्याय दिने प्रयत्नमा लागिपरेको भेटिने कुँवर सरकारको तर्फबाट समयमै सरुवा व्यवस्थापनलाई व्यवस्थित बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध निकायहरूलाई घचघच्याइने कार्यमा निरन्तर लागिपरेका छन् । संघीय निजामती सेवा ऐन चाँडो ल्याउने विषय पनि कुँवरको टिपोटमा समावेश थियो ।
खेलकुद र पूर्वाधार विकासमा सुधार
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति, दमकमा रङ्गशालाको निर्माण, झापाको औद्योगिक पार्कको विकास र पोखरा तथा भैरहवाका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका ढिलासुस्तीहरूलाई समाधान जस्ता विषय पनि कुँवरले डायरीमा टिपोट गरेका छन् । यी सबै महत्त्वपूर्ण परियोजनाहरूलाई समयमै सम्पन्न गराउने प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनका लागि सम्बद्ध पक्षहरूलाई त्यतिकै घचघच्याइरहेका छन् । यसका साथै, नेपाली खेलकुदको आधारभूत संरचना मजबुत बनाउने ओलीको सपना साकार पार्नेतर्फ उनी सजग छन् । र, प्रधानमन्त्रीको हुटहुटी छ भन्दै बेला बेला धाराप्रवाह निर्देशन दिइरहन्छन् ।
नागरिकका गुनासो सम्बोधन
कुँवरको डायरीमा समेटिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नागरिकबाट आएका गुनासाहरूको तत्काल सम्बोधन हो । प्रधानमन्त्रीको कार्यालयमा आउने गुनासाहरूलाई प्राथमिकतामा राख्दै तिनको समाधान खोज्न विभिन्न मन्त्रालयलाई घच्घच्याउने काम उनले गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयको यस सक्रियताले नागरिकमा बढ्दै गएको असन्तुष्टिलाई केही हदसम्म सम्बोधन गर्न मद्दत गरेको उनको अनुभव छ । सम्बद्ध निकायबाट सुनुवाइ नभएपछि नै प्रधानमन्त्रीसमक्ष आउने हो भन्दै नागरिकबाट आएका गुनासाहरूलाई यथाशक्य चाँडो सम्बोधन गर्नुपर्छ भन्ने हेतुले नै सबै मन्त्रीका निजी सचिवहरुलाईसमेत बेला बेलामा भनिरहेका हुन्छन् ।
सिंहदरवार र अन्य सरकारी संरचनाको मर्मत
कुँवरले सिंहदरवारभित्रका सरकारी भवनहरूको मर्मत, पुनर्निर्माण र विस्तारको कामलाई पनि प्राथमिकतामा राखेका छन् । सिंहदरवारभित्र रहेका सरकारी निकायहरूका भवनहरूलाई मर्मत गरेर नयाँ संरचना निर्माण गर्न र सरकारी कार्यालयहरूको प्रभावकारिता बढाउन कुँवरले पहल गरिरहेका छन् । यसले सरकारी कामकाजको प्रभावकारिता बढाउनुका साथै ऐतिहासिक भवनहरूको संरक्षणलाई पनि प्रोत्साहन गर्ने उनको ठहर छ ।
त्यसो त यसअघि पनि केपी शर्मा ओली नेतृत्वकै सरकार छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुख रहेका कुँवरले सिँहदरवार वृहत् सुधार योजना अघि सार्दै सदियौँदेखि थुप्रिएका सयौँ टिप्पर फोहोर मैला हटाएका थिए । त्यति मात्रै होइन, यहाँ स्थित बगैँचा व्यवस्थापनदेखि फलफूल रोप्ने अभियानकै नेतृत्व गरेका थिए ।
भ्रष्टाचारविरुद्ध कडा कदम
कुँवरको डायरीमा भ्रष्टाचारविरुद्धको कदम पनि महत्त्वपूर्ण रूपमा समावेश छ । सरकारले भ्रष्टाचार नियन्त्रणका कडा कदम चालिरहँदा सेवाग्राहीलाई अनावश्यक सास्ती दिने र अतिरिक्त रकम असुल्ने कार्य बन्द गर्नुपर्छ भन्दै उनी लागिपरेका देखिन्छन् । कतिपय मालदार भनिएका निकायहरूमा नै कर्मचारी खटाउँदा हुने गरेको मोटो रकमको लेनदेनसमेत रोक्न लागिपर्दै आएका छन् कुँवर । हेलो सरकारमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका गुनासाहरूमा भ्रष्टाचारका उजुरीहरूलाई विशेष प्राथमिकतामा राख्दै तिनको अनुसन्धान भइरहेको छ । भ्रष्टाचार नियन्त्रण र जनगुनासाहरूको सम्बोधनमा कुँवरको सक्रियता छ ।
प्रधानमन्त्रीका निर्देशनहरूको कार्यान्वयन
प्रधानमन्त्रीले समय–समयमा दिएका निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्न कुँवरले विभिन्न मन्त्रालय र सरकारी निकायहरूसँग निरन्तर समन्वय गरिरहेका हुन्छन् । चाहे सार्वजनिक सेवा प्रवाहमा सुधारको विषय होस् वा अन्य महत्त्वपूर्ण सरकारी कामकाज, प्रधानमन्त्रीका निर्देशनहरूको कार्यान्वयन सुनिश्चित गर्न कुँवरको भूमिका अत्यन्तै महत्त्वपूर्ण देखिन्छ ।
व्यस्तता र समर्पणको दैनिकी
प्रधानमन्त्रीका निजी सचिव कुँवरको दैनिकी अत्यधिक व्यस्ततामा बित्ने गर्छ । बिहान उज्यालो भएसँगै कार्यालय पुगेर काम शुरु गर्ने कुँवर अधिकांश दिन मध्यरातसम्म काम गरिरहेका हुन्छन् । प्रधानमन्त्रीकहाँ आउने निवेदनदेखि भेटघाट तथा समन्वयलगायतले व्यस्त दैनिकीबिच पनि जहिल्यै रिफ्रेस र आशावादी मुडमा भेटिन्छन् कुँवर । साँझपख प्रधानमन्त्रीसँगको भेटघाट, निर्देशनहरूको कार्यान्वयन समीक्षा र विभिन्न परियोजनाहरूको अनुगमन गर्ने क्रममा बितेको समय कुँवरको दैनिकीको एक सामान्य हिस्सा हो ।
निष्कर्ष
देशका प्रमुख कार्यकारीका निजी सचिव कुँवरको भूमिका प्रधानमन्त्रीको सहयोगीमा मात्र सीमित नभई सरकार र नागरिकबीचको सेतुका रूपमासमेत महत्त्वपूर्ण बनेको छ । उनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै सार्वजनिक सेवामा सुधार ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्न र जनगुनासाहरूको तत्काल सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
कुँवरको डायरीमा रहेका विषयहरू मात्र उनको दैनिकीका झलक हुन् । उनी लगातार निजामती सेवाको साख बढाउँदै सेवा प्रवाहमा सुधार ल्याउन र सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रतिबद्ध देखिन्छन् । उनको यो प्रतिबद्धता र समर्पणले प्रमुख कार्यकारीको कार्यसम्पादनमै सुधार ल्याउन र नागरिकमा सरकारप्रति विश्वासको वातावरण सृजना गर्न योगदान पुर्याइरहेको छ ।
उनले जसरी सबै निकायबाट आ-आफ्नो जिम्मेवारीलाई इमानदारीताका साथ पुरा गरी दिएको अवस्थामा अहिलेको जनगुनासो आधै भन्दा बढी घट्ने कुरामा दुईमत छैन ।