काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएपछि राज्यले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’को धारणा छ ।
‘प्रचण्ड’ले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई शुक्रबार सम्मान गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । खुलमटारमा एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल पलेशा र उनका प्रशिक्षकलाई सम्मान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले पलेशा र प्रशिक्षक कविराजसँगै नेपाली टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोवर्द्धनलाई पनि सम्मान गरे । सो क्रममा अध्यक्ष प्रचण्डले ऐतिहासिक पदक विजेता पलेशालाई बधाई दिँदै यो जितका कारण संसारभर रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।
‘ओलम्पिकको इतिहासमा पहिलो पटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभर रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ ।’ उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ । त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदको बहुआयामिक महत्त्व भएकाले खेल क्षेत्रमा राज्यले बढीभन्दा बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘अहिले समय फेरिएको छ । खेलकुदले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठुलाठुला समस्याको समाधान पनि दिने गरेको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ । यसमा सबले गर्व गरेका छन्, सबै खुशी भएका छन् ।’
पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना दिए । यो जितका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र परिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उनले धन्यवाद दिए ।
पलेशाको परिवारलाई विशेष बधाई दिँदै उनले अप्ठ्यारो अवस्थाबाट गुज्रेर पनि देशका लागि ऐतिहासिक उपलब्धि हासिल गर्नु चानचुने विषय नभएको बताए । यसअघिका विभिन्न प्रतियोगितामा थुप्रै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो खेल नेपालका लागि विशेष खेल भएको धारणा पनि उनले व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको पनि बताए । सम्मान कार्यक्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताइन् ।
कार्यक्रममा प्रशिक्षक कविराज, व्यवस्थापक रामचन्द्र, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतका पदाधिकारीसँगै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले पनि आफ्नो अनुभव सुनाएका थिए ।