काठमाडौँ। सांसदहरूले निजामती कर्मचारीमा एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने धारणा राखेका छन् ।
बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकको छलफलमा सांसदहरूले सरकारी कर्मचारीको एउटा मात्र ट्रेड युनियन उपयुक्त हुने बताएका हुन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियन अधिकारको विषयमा फरक-फरक धारणा समितिमा रहेको स्मरण गरे । कोही ट्रेड युनियन राख्नै हुँदैन भन्ने, कोही एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्नुपर्छ भन्ने कोही अहिले भएकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने भन्ने रहेको उनले बताए ।
आफू व्यक्तिगत रूपमा भने एउटा मात्रै ट्रेड युनियन भए पुग्छ भन्ने पक्षमा रहेको सांसद पन्तले बताए । ट्रेड युनियनका विषयमा प्रमुख राजनीतिक दलका बीचमा सहमति गर्नुपर्ने उनको प्रस्ताव छ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक दलको भातृ संगठनकै रूपमा कर्मचारीको संगठन रहने विषय सुधार गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईँले पनि एउटा मात्रै आधिकारिक संगठन रहनु उचित हुने बताइन् । प्रस्तावित विधेयकको दफा १३१ मा ट्रेड युनियनसम्बन्धी व्यवस्था छ । जहाँ कर्मचारीहरूको जति पनि ट्रेड युनियन रहन सक्ने प्रावधान छ ।