काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो ।
दलका नेताहरूसँग छलफलपछि बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । ‘राजनीतिक दलका नेताहरूसँगको छलफलपछि बसेको आयोग पदाधिकारीको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो,’ आयोगका प्रवक्ता नवराज ढकालले भने ।
आयोगले प्रकाशित गरेको कार्यतालिकाअनुरूप निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ । सोही दिनको सवा १ देखि ६ बजेसम्म नामावलीमा छुट नाम समावेश गर्ने, विवरण सच्याउने र नामावलीउपर दाबी–विरोधको उजुरी दिने समय छुट्याइएको छ । उजुरीउपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय २२ फागुनको बिहान १० देखि साँझ ६ बजेसम्म छुट्याइएको छ । राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता गर्ने समय २३ फागुनको बिहान १० देखि दिउँसो २ बजेसम्म छुट्याइएको छ । उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ । उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्म छुट्याइएको छ ।
२४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयनपत्र र उजुरीपत्रउपर जाँचबुझ गरिनेछ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुनेछ । उम्मेदवारलाई नाम फिर्ता लिने समय २४ फागुन साढे ४ देखि साढे ५ बजेसम्मको समय छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुनेछ ।
प्रवक्ता ढकालका अनुसार २९ फागुन मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घन्टापछि मतगणना गरिने आयोगका प्रवक्ता ढकालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







