एमाले–माओवादी पार्टी एकीकरण गर्न सातबुँदे सहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले–माओवादी पार्टी एकीकरण गर्न सातबुँदे सहमति


८ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइनेछ ।

एकीकृत पार्टीको ‘नाम नेपाल कम्युनिस्ट पार्टी’ रहने र एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।

साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी एकता संयोजन समितिका आठ नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी र सरकारमा आलोपालो नेतृत्व

सहमतिमा एकीकृत पार्टी र सरकारको नेतृत्वबारे केही पनि उल्लेख छैन ।

यद्यपि, एकता महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरूको अध्यक्षता दुवै पार्टीका वर्तमान अध्यक्षले आलोपालो प्रणालीबाट गर्ने र सरकारको नेतृत्वमा समेत आलोपालो गर्ने भद्र समझदारी भएको पार्टी एकता संयोजन समितिका एक सदस्यले बताए ।

पार्टी र सरकारको नेतृत्वबारे सहमतिपत्रमा उल्लेख गर्दा गलत सन्देश जाने भन्दै एमाले नेताहरूले अनुरोध गरेपछि मस्यौदाबाट हटाइएको स्रोतले जनाएको छ ।

‘पार्टी एकता संयोजन समितिमा रहनुभएका एमाले नेताले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लेख गर्दा गलत सन्देश जाने र एकताको भावना नै समाप्त हुने चिन्ता गरेका कारण आलोपालोका विषय हटाइएको हो,’ एक माओवादी नेताले भने ।

कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको छ ।

यो सहमतिका आधारमा संयोजन समितिको अर्को बैठकले कार्यदल गठन गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए ।

यस्तो छ प्रस्तावित संगठनात्मक स्वरुप

ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल नभएको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ ।

तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ ।

तर, यस सम्बन्धमा अन्तिम गृहकार्य अब गठन हुने संगठनात्मक स्वरुप गृहकार्य गर्न गठित कार्यदलले तयार पार्ने स्रोतको दाबी छ ।

राष्ट्रपति, सभामुख र मन्त्रिपरिषद् भागवण्डामा छलफल

ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रालय भागवण्डामासमेत छलफल चले पनि संयोजन समितिको बैठकमा भने यसबारे ठोस छलफल भएन् ।

एक नेताका अनुसार एमालेका तर्फबाट राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा माओवादीका तर्फबाट उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एक लिनेगरी छलफल चलेको छ ।

तर, यसलाई भागवण्डाभन्दा पनि आवश्यकताको सिद्दान्तअनुसार टुंग्याइने सम्भावना छ । उच्च स्रोतका अनुसार ओली र प्रचण्डले वतर्मान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै दोहोर्याउने प्रष्ट संकेत गरिसकेका छन् । तर, एकता संयोजन समितिमा सोमबार यो विषयले प्रवेश पाएन ।

एकीकरणका प्रारम्भिक आधारमा सहमति

१. पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी

२. निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’

३. बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट

४. जबज र माओवाद – नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।

५. विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।

६. समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण

७. एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस