दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री माध्यमिक विद्यालय सिक्टाको शुल्क विवादमा प्रधानाध्यापकमाथि कुटपिट भएको छ ।
प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको खत्रीले बताए । तर, वडा सदस्य बस्नेतले खत्रीले आक्रमण गर्दा आफूले आफ्नो बचाउ गरेको प्रतिक्रिया दिए ।
प्रधानाध्यापक खत्रीको दायाँ आँखामा चोट लागेको छ । दायाँ कान कम सुनेको र हातमा पनि चोट लागेको खत्रीले बताए । उनको नेपालगन्जमा उपचार हुँदै । ‘विद्यालय व्यवस्थापन समितिको बैठक बसाल्ने विषयमा वडाध्यक्षसँग छलफल गरिरहेको थिए’, खत्रीले भने, ‘विद्यार्थीबाट पैसा उठाएको भन्दै सदस्यले भौतिक कारबाहीको चेतावनी दिनु भयो । एक छिनमा आक्रमणमै उत्रनु भयो ।’
वडाध्यक्ष वलीका अनुसार विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने विषयमा आफ्नो कार्यकक्षमा छलफलका क्रममा कुटपिट भएको हो । विद्यालयमा शुल्क लिएको विषयमा प्रधानाध्यापक र वडा सदस्यबिच विवाद रहेको उनले बताए । ‘विद्यालयले शुल्क उठाउनुको कारण खोज्नुपर्ने छ । आवेगमा आएर मान्छे पिट्दैमा समस्याको समाधान हुँदैन,’ उनले भने, ‘यो विषयमा बैठक बसेर थप निष्कर्षमा पुग्नुपर्ने छ ।’
विद्यार्थीबाट शुल्क लिएकोमा विवाद
प्रधानाध्यापक विष्णु खत्रीका अनुसार विद्यालयलाई चार वटा शिक्षक दिने भनेर पालिकाले निर्णय गरेको ढाइ वर्षसम्म शिक्षक पठाएको छैन ।
शिक्षक नपठाएका कारण पठनपाठनमा समस्या भइरहेको उनले बताए । ‘पालिकाले शिक्षक दिएको छैन, मसलन्द पनि उपलब्ध गराएको छैन । आर्थिक समस्या छ’, उनले भने, ‘परीक्षाको लागि कापी किन्ने पैसा नभएका कारण वडाध्यक्षसँगको परामर्श अनुसार नै विद्यार्थीसँग ५० रुपैयाँ जति शुल्क उठाएका थियौँ ।’
विद्यार्थीबाट शुल्क लिएको विषय वडा सदस्य बस्नेतलाई मन परेको थिएन । वडा सदस्य बस्नेतले भने, ‘पालिकाले शिक्षा निःशुल्क गरेको छ । विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन मिल्दैन ।’ विद्यालयमा शिक्षक नपठाएको विषयमा बस्नेतले सरकारले पठाएका शिक्षकलाई खत्रीले हाजिर नगराएको बताए ।
‘प्रावि राहत शिक्षक (विष्णु खत्री)ले विगत ६ वर्षदेखि माविको प्रधानाध्यापक खाइ रहेका छन् । करारको शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आफू अनुकूलको प्रधानाध्यापक बनाएको छ’, बस्नेतले भने, ‘अभिभावक भेला भएको छैन । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिलाई मान्यता दिएको छैन । गाउँपालिकासँग समन्वय नगरी आफू खुसी शिक्षक राख्ने गरेका कारण समस्या भएको हो ।’
राजपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशव लम्सालका अनुसार दाङबाट आएका शिक्षकलाई हाजिर नगराएको विषयमा पालिकाले कारबाही गर्ने चेतावनी दिएपछि पछि हाजिर गराएको पाइएको थियो । उक्त विद्यालयमा माध्यमिक तहमा शून्य दरबन्दी छ । निमावि राहत र प्रावि स्थायी शिक्षक भए पनि उनीहरू प्रधानाध्यापक हुन राजी नभएका कारण खत्रीले नै प्रधानाध्यापक चलाउँदै आएका हुन् ।
पालिकाले विद्यालय व्यवस्थापन समितिलाई मान्यता नदिएको लम्सालले जानकारी दिए । बोडिर्ङ स्कुलमा समय दिने गरेका कारण विद्यालयको पढाइ पनि प्रभावित भएको आरोप खत्रीमाथि लागेको छ