काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवम् सरकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
नेपाललाई मेडिकल शिक्षाको हब का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ छ । उनले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रूपमा मात्र नभई व्यावहारिक र मानवीय मूल्य मान्यता एवम् संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको बताए ।
प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ चुनौती देखा परिरहेको उल्लेख गरे। नेपालका धेरैजसो भू-भाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।