काठमाडौँ । वैदिक ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिइएको छ ।
हिमालय क्षेत्रबाट शुरु भएको वैदिक ज्ञानलाई युरोप, अमेरिकालगायत विश्व जगतमा फैलाउने अभियानमा लाग्नुभएका महर्षि महेश योगीको १० औँ स्मृति दिवसका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले सोमबार आयोजना गरेको कार्यक्रममा नेपालमा ज्ञानको पुनर्जागरण हुनुपर्ने औँल्याइएको छ ।
कार्यक्रममा ब्रह्मानन्द यज्ञ फाउण्डेसनका अध्यक्ष नील प्याटर्सनले महर्षि योगीले वैदिक ज्ञानको स्रोत नेपाल हो भनी आफ्ना प्रवचनमा उल्लेख गरेको वताए।
“प्राचीन ऋषिमुनिले ध्यानका माध्यमबाट वेदका ऋचा (मन्त्र) देख्नुभएको थियो, प्रकृतिमा भएको यो ज्ञान जुनजुन ऋषिले ध्यान दृष्टिबाट देख्नुभयो उहाँकै नाममा मण्डलको नामकरण भएको छ, यसैकारण महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्नुभएको छ”, उनले भने।
फाउण्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक ज्ञानको पुनर्जागरण गरी धर्तीमा स्वर्ग अवतरण गराउने अभियानमा संस्कृत क्षेत्रका विद्वान्वर्गको सहयोग माग गरे। यसका लागि हाल देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा चेतनामा आधारित शिक्षा दिइएको जानकारी उनले दिए।
विश्व शान्ति राष्ट्रका तर्फबाट नेपाल हेर्ने महर्षि अभियानका राजा किङ्स्ली ब्रुक्सले योग, भावातीत ध्यान र यज्ञका माध्यमबाट नेपाललाई अजेय राष्ट्र बनाउने अभियानमा लागिएको जानकारी दिए ।