२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेराकी’-आत्मालाई भिजाउने कविता

अ+ अ-

साहित्यकार राजीव घिमिरेको ‘मेराकी’ कविता सङ्ग्रह हालै प्रकाशित भएर बजारमा आएको छ । उनी आफ्ना कवितालाई ‘आत्माले भिजेका कविता’ भन्छन् । म चाहिँ पाठकको नाताले भन्छु, यी ‘आत्मालाई भिजाउने कविता’ हुन् । ‘अक्षरको अर्चना’ शीर्षक भूमिकामा उनी लेख्छन् , ‘मलाई लाग्थ्यो, कवितामा लेख्न केही बाँकी छैन । सबै कुरा मेरा अग्रजले लेखिसके । अब जे लेखे पनि अनुकरण मात्र हुन जान्छ ।’ परन्तु कविता नै कविताले भरिएको राजीवको छातीबाट एक दिन एउटा उच्छ्वास निस्किछाड्यो ।

‘मेराकी’। यो ग्रीक भाषाको शब्द हो । मेराकीभित्रको गाम्भीर्य र मार्मिकताको अर्थ लगाउन शब्दको अभाव छ । त्यसमाथि मातृभाषा ग्रीक नहुनेहरूका लागि त यसको अभ्यन्तर अभिप्रायलाई अभिव्यक्त गर्न झनै गाह्रो छ । तथापि सरल अर्थमा यसको तात्पर्य हो कुनै पनि कार्यप्रति रचनात्मकता, आत्मीयता र गहन प्रेम । शब्दको पहुँचभन्दा पर संवेदना, प्रतीति र अनुभूतिसँग सम्बन्धित छ मेराकी ।

मेराकी अर्थात् समर्पण । आफूले आँटेको कार्यलाई चेतनाको अन्तस्तलबाट प्रतिबद्ध भएर गरिने एक अनुष्ठान । आफ्नो रचनात्मक शक्तिको प्रयोगमा पूर्ण इमानदारी, लीनता र निष्ठा हो मेराकी । मेराकीको तात्पर्य हो स्वयंभित्रको सारतत्त्व ।

राजीव घिमिरेको कविता सङ्ग्रह ‘मेराकी’ मा एकत्रित कविताहरूको अध्ययन गर्दा लाग्दछ, उनी ‘बरु कर्म नगर, गर्छौ भने पूर्ण निष्ठा र समर्पणले गर’ भन्ने आप्त वचनबाट प्रभावित छन् । कृष्णलाई डर थियो, कतै अर्जुनले युद्धमा आलस्य पो अपनाउने हुन् कि । त्यसैले उनले अर्जुनलाई पूर्ण ‘मेराकी’का साथ युद्ध गर्ने उपदेश दिएका थिए । सारथी त शल्य पनि भएका थिए । परन्तु उनले आफ्ना रथी कर्णलाई निरन्तर हतोत्साहन मात्र गरिरहे । कविताको महाभारतमा अर्जुनले झैँ मेराकीलाई आत्मसात् गर्ने उपदेश राजीवलाई कसले दियो ? उनमा आनुवंशिक रूपमा सर्दै आएको विरासतले कि आफ्नै प्रतिभाले ? उनी राष्ट्रकवि कविवर माधवप्रसाद घिमिरेका छोरा हुनाले यो प्रश्न स्वाभाविक छ ।

कविता नलेख्नेलाई यो कर्म बडो सजिलो लाग्दछ । किन्तु जब लेख्न बसिन्छ, सितिमिति मस्तिष्कको ताल्चा नै खुल्दैन । कविता लेख्नेहरू धेरै छन् । उनीहरूमा कविताप्रति निष्ठा नभएको पनि होइन । कविता असफल हुनुका मूलतः दुइटा कारण छन् । पहिलो हो कवित्व प्रतिभाको कमी र अर्को हो मेराकीको अभाव । राजीवको कवित्वमा मेराकीको सबल उपस्थिति छ । उनले कवितामा आफ्नो आत्माको सार लिपेका छन् । उनको भाव र शैली भिन्न छ । उनी स्वस्फूर्तरूपमा प्रवाहको पल्लो किनारामा उभिन पुगेका छन् । प्रकाण्ड दार्शनिक झैँ प्रतीत हुने राजीव पिता जस्तो सुगम र सुबोध छैनन् । पिता पाठकलाई रुलाउन, भावुक बनाउन र कहिँकहिँ राष्ट्रिय भावनामा डुबाउन सक्षम छन् भने राजीव चाहिँ अहो ! भन्न र सोच्न विवश पार्छन् ।

कविले अस्तित्वको सीमाभन्दा परसम्म देख्न सक्छ रे । ऊ हरेक सीमालाई उल्लङ्घन गरेर सीमाहीन बन्न सक्छ रे । त्यही खुबी राख्ने हुँदा वैदिक कालमा कविलाई क्रान्तद्रष्टा भनिन्थ्यो । भावभङ्गीको माधुर्यले अभिषिक्त सुकुमार, लालित्यपूर्ण र कल्पनाशील जागरूकता नै कविको शक्ति हो । कहिले दुःखी आत्मा भावुक भएर शब्दरूपी आँसुमा पोखिन्छ । कहिले परिहास, कहिले उपहास त कहिले चैतन्यको उद्बोधन । विपत्तिको घडीमा कवि एक्लै विलाप गर्दैन । ऊ त दुनियाँलाई समेत रुलाउँछ । माधव घिमिरेले गौरी लेखेर रुलाए भने देवकोटाले मुनामदन ।

कविको काम जगाउने हो । कर्मण्य बनाउने र साहस दिने हो । उपनिषद् भन्दछ, ‘उत्तिष्ठत जाग्रत् प्राप्य वरान्निबोधत । क्षुरस्य धारा निशिता दुरत्यया दुर्ग पथस्तत्कवयो वदन्ति ।’ राजीवको मेराकीले जीवन मार्गको भुमरीमा अल्झेको अन्ध विश्वासी, मतिहीन र सुषुप्त मानवलाई जगाउने भरमग्दुर चेष्टा गरेको छ ।

कविको विशेषता के हो भने ऊ बाहिर जे देखिन्छ, भित्र त्यो हुँदैन । राजीव घिमिरे यो कविता सङ्ग्रहमा आफ्नो बाह्य व्यक्तित्वको उल्लङ्घन गरेर आभ्यन्तरिक स्वरूपमा देखिएका छन् । ‘फेरि भेटौँला’ भन्दै पाठकप्रति आफ्नो अर्चना समाप्त गरेका राजीव अर्को साहित्यिक कृतिमा कस्तो रूपमा देखिने होलान् ? व्यग्र प्रतीक्षामा रहने छु ।

राजीवको कवित्वमा पिताकोअनुकरण छैन । मौलिकता र नवीनताको उच्च शिखर आरोहण गर्न सफल छन् राजीव । पारिवारिक शैलीलाई परित्याग गरेका उनी भन्छन्, ‘यसमा देश, आमा, सगरमाथा, खुकुरी, गोरखाली, गुन्द्रुक, र परेवा पाउनुहुन्न ।’ कसैको प्रकाशमा बस्ने रुचि छैन उनमा । उनी ‘अप्प दीपो भव’को नमुना बनेर पोखिएका छन् ।

मेराकीको अर्थ स्वाभिमान जोगाउँदै मौलिक तवरले सावधानीपूर्वक आफ्नो कार्यको सम्पादन गर्नु पनि त हो । राजीव यस कृतिमा अलग्गै मार्गका बटोही बनेर उदाएका छन् ।

बनावट र शैली फरक छ । प्रवाह,सन्देश र प्रस्तुति फरक छ । राजीवमा बौद्धिकता छ । निदाएकालाई जगाउने कला छ । बिउँझाउने बिम्बले अचेतलाई सचेत बनाउँछ । उनी आफ्नो कविता यात्रालाई ‘अज्ञातको खोजी’ भन्न रुचाउँछन् । उनी भन्छन्, ‘यहाँ म कला विना नाच्दै छु ।’ किन्तु उनी कविता देवीलाई शृङ्गार गर्ने उत्तम कलाकारिता देखाउन सफल भएका छन् ।

पिताको पाइलालाई पछ्याए पनि पदचापको अनुकरण गर्दैनन् उनी । पिताका पदध्वनीहरूमा छन्दको मिठास र माधुरी सुनिन्छ भने राजीवका पाइलाहरू पाठकको सुषुप्त भावलाई उद्दीप्त पार्दै सामान्य सोचभन्दा टाढा बौद्धिक पुट दिन समर्थ छन् । शब्द चातुर्य र भाव चातुर्य दुबैमा धनी छन राजीव । उनमा प्रचुर मात्रामा काव्यिक चेतना र जीवन्तता छ । उनी पोखिन निपुण र कुशल छन् । सारभूत तवरले स्वयंलाई कवितामा लीन गराउन सफल भएको हुँदा ‘मेराकी’ शीर्षक पनि सार्थक भएको छ।

मेराकीमा जम्मा ३७ कविता छन् । अनेकौँ शीर्षकहरूलाई उपशीर्षकमा विभक्त गरिएको हुँदा कविताको सङ्ख्या अझै बढेको छ । यस जगतमा कमजोरीविहीन कुनै सृजना हुँदैन । राजीवका कवितामा पनि कमजोरी होलान्, छन् । परन्तु तिनलाई पर्गेलेर परिपाक लाउन कठिन छ । उनका कतिपय कविताहरू गूढ रहस्यले भरिपूर्ण छन् । कतिपयले भन्न खोजेका कुरा पत्तो पाउन अलिकता गम्नु पर्ने अवस्था छ । त्यसैले हाललाई त्यो काम केही समयका लागि थाती राखेको छु ।

‘मर्न नदिने मै हुँ’ शीर्षक कवितामा उनी लेख्छन्:-
‘परदेशका ती खिन्न दिनमा
पानी पर्दा धूलो उडेको बाटोमा
खोज्छौ तिमीले जुन बास्ना हावामा
त्यो बास्नाभित्रको स्वदेश मर्न नदिने मै हुँ।’

‘खण्ड तर अखण्ड’मा राजीव लेख्छन्,
‘जब गुड्छ रथ
घुम्छ पाङ्ग्रा धुरीमा
तर धुरी रहन्छ स्थिर
घुम्छ पाङ्ग्रा जुन धुरीमा अडेर
म बन्छु त्यस्तै स्थिर
तर गतिशील ।’

‘म चाख्छु समय’मा उनी यसरी पोखिन्छन् –
‘कसैले देओस् मलाई
एक झोला अशिक्षा उपहार
जसले आफूले आफैलाई पढ्न खोज्दा पनि
नसकोस् खुट्टाउन अक्षर
बन्द होस् सबै संवाद
आफैले आफैसँग पनि
बसिदिन्थेँ म एक परम मौनमा ।’

‘ह्याकर’मा कथित भाग्य लेख्ने विधातालाई कडा चुनौती दिन्छन् कवि । कर्म र परिश्रमले भाग्यलाई चुनौती दिने बिम्ब प्रयोग गर्दै लेख्छन् –
‘मेरो निधारमा कर्‍याङमर्‍याङ लेखेर
भाग्य अभिमानले मुस्कुराउँछ
यो गूढ रहस्य
कसैले बुझ्दैन भनी
तब जिल्ल पर्‍यो भाग्य
जब वर्षौँपछि त्यही कर्‍याङमर्‍याङलाई
छाप जस्तो प्रयोग गरेर
उसको हार्ड डिस्कमा
फेरिदिएँ मैले
उसले मेरा लागि लेखेका सबै क्रूर कथाहरू।’

‘स्वतन्त्रता’ शीर्षकमा सूर्यमुखी फूलको परतन्त्रतालाई प्रतीकको रूपमा देखाउँदै स्वविचार र स्वत्वहीन मानवको अवस्थाबारे यसरी लेख्छन्,
‘सूर्यमुखी
दृष्टिकोण उसको छैन स्वतन्त्र
सक्दैन हेर्न चारैतिर
अभिशप्त छ ऊ
सूर्यतिर फर्कन ।’

‘दिक् काल र समभोक्ता’मा लेख्छन् –
बनौँ एउटै वक्ता / एउटै वाणी बोल्ने
बनौँ एउटै श्रोता / एउटै स्वर सुन्ने
बनौँ एउटै द्रष्टा / एउटै ज्योति देख्ने
बनौँ एउटै भोक्ता / एउटै क्षण भोग्ने ।’

राजीव एक वैज्ञानिक सोचका कवि हुन् । उनलाई अस्तित्वको नियमको सम्यक् ज्ञान छ । हामीले नभमा असङ्ख्य तारा देख्छौँ । परन्तु ती देखिने दृश्य हिजो या आजका होइनन् । ती दृश्य त हजारौँ हजार वर्ष पुराना हुन् । जुन दिन आजको दृश्य यहाँ आइपुग्नेछ, त्यसलाई देख्न हामी जीवित रहने छैनौँ । जब हामीमा अस्तित्वको नियमलाई बदल्ने या दखल दिने सामर्थ्य छैन भने मिथ्याको क्षणभङ्गुर अभिमानमा बस्नुभन्दा एक आपसमा मिलेर बस्नुमै श्रेय छ भन्ने उदात्त सन्देश दिन्छन् राजीव ।

‘पग्लेको समय’मा बुढेसकालबारे मार्मिक चित्रण गर्छन् राजीव ।
‘हिउँदको याममा आलस्यका दिनमा
सबै कामलाई थाती राखेर
पहारिलो घाम र अल्छ्याइँले मुछेको
लोलाएको जिउ लिएर
चौरमा पल्टेर
घामका न्याना स्पर्शहरू ताप्दै
नीलो खाली आकाशतिर टोलाउँदै
त्यो रित्तो आफूमा भर्दै
निरुद्देश्य
म काट्छु समय ।’

‘बन्यो जड’ शीर्षकमा अल्छीले कसरी आफ्नो चेतन अस्तित्व गुमाउनुपर्छ भन्ने बिम्ब प्रयोग गर्दै लेख्छन् –
‘रुखले पाएछ घाम पानी
विना मेहनत
खोज्न परेन आहारा कतै
बन्यो जड ।’

उनी ‘मुखौटा’मा रन्थनिने गरी लेख्छन् –
मन्दिर छिर्नुअघि जुत्ता राख्ने ठाउँमा
फुकालेँ आफै आफ्नो मुखौटा
फर्केर खोज्दा
चिनिन आफ्नै मुखौटा
खोजिरहेछु
मुखौटाहरूको भिडमा आफ्नै मुखौटा ।’

राजीवले यस पूर्व कहिल्यै कसैले नलेखेको शब्दहीन कविता पनि लेखेका छन् । उनले ‘इलेक्ट्रोजीवन्योग्राम’ शीर्षकमा अस्तित्वको असतत् एकाइ ( क्वान्टम) अर्थात् श्वास, धड्कन, जिजीविषा, सङ्घर्ष, कामना, सुख, दुख र माया जनाउने, किन्तु वाचन गर्न नमिल्ने चित्र कविता पनि लेखेका छन् ।

‘चार शूल कुरेको साँढे’को शूल १. मा लेख्छन् –
‘कुरिरहेछु त्यो ढोका बाहिर
यही आशामा निरन्तर, कि
तिमी सुनौलो गजुरको कोठामुनि थुनिदा
निस्सासिंदै निस्कनेछौ घुटनबाट
बाहिर
कुनै न कुनै दिन
त्यागेर आफ्नो पुजिने तृष्णालाई
भोले !

देखेको छु मैले सम्झेको छु
तिमीलाई झुक्याएर भेटी चखाई
फर्कने सबैका अनुहारहरू ।’

यो कविताका चार वटै शूल पढ्दा पाठकको छाती नै ढक्क फुल्छ । कवितामा स्वयंलाई लीन गराउने यस्तो प्रयास देख्दा लाग्दछ, राजीवले ‘मेराकी’प्रति सम्पूर्णरूपेण न्याय गरेका छन् । राजीवलाई आशा छ, बाबा भोलेनाथ त्यो सुनचाँदीमय कोठरीबाट कुनै न कुनै दिन फुत्त निस्कनेछन् र बाहिर अविरल कुरेर बसेका नन्दी उनलाई जुरुक्क बोकेर हिमालयतिर दगुर्ने छन् ।

कविले आफूलाई बिर्सन्छ र भाव एवं अनुभूति मात्र शेष रहन्छ । राजीव कविताको सिलसिलामा आफ्नो इन्जिनियरिङ व्यवसायलाई बिर्सेका प्रतीत हुन्छन् । उनी बन्धनहीन र स्वच्छन्द भएर रम्दछन् शब्द शब्दमा । मुक्त हृदय फुटेर आर्द्र र रसीभूत हुन्छ । त्यही रस शब्द बनेर लिपिन्छ अक्षर र चित्रमा ।