काठमाडौँ । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले रोकिएको बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्य सुचारु गर्न निर्देशन दिएका छन् ।
उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका कार्यवाहक महालेखापरीक्षक काफ्लेले २०७९ असार १७ गतेदेखि रोकिएको सम्परीक्षण सुचारु गर्न ६ बुँदे निर्देशन जारी गरेका हुन् ।
अवकाशमा जानु अघि कार्यवाहक महालेखापरीक्षक काफ्लेले जारी गरेको निर्देशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३९, ४० बमोजिम नियमित भएको, असुल उपर भएको तथा पेश्की फर्स्यौट भएको रकमको केन्द्रिय अभिलेख मन्त्रालय/आयोग/सचिवालयले महालेखापरीक्षकको कार्यालयमा अनुरोध गरेपछि महालेखापरीक्षकको कार्यालयले केन्द्रिय निकायको चालु वर्षको लेखा परीक्षणको क्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३८ बमोजिम विगत वर्षहरूको बेरुजु फर्स्योट अभिलेख, स्रेस्ता, कागजात, प्रमाण परीक्षण गर्ने गराउने व्यवस्थाका लागि सबै लेखा उत्तरदायी अधिकृतहरूलाई अनुरोध गरिएको छ ।
यस निर्देशनबाट २०७९ आषाढ महिनादेखि रोकिएको सङ्घीय सरकारको बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्य गरी वित्तीय अनुशासन कायम गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।
२०८० श्रावणदेखि कार्यवाहक महालेखापरीक्षक रहेका काफ्ले आर्थिक अनुशासन कायम गर्न गराउन सुरुवातदेखि नै सरोकारवालाहरूसँग छलफल, पृष्ठपोषण, तत्काल सुधार योजना कार्यान्वयन गरी लेखा परीक्षकको व्यवहार, आचरण र कार्यशैलीमा परिवर्तनका माध्यमबाट अनुभूत हुने गरी सुधार कार्यलाई जोड दिँदै आएका थिए । उनले असोज १५ गते लेखा उत्तरदायी अधिकृतलाई बेरुजुको लगत अद्यावधिक गर्न तथा पुस १२ गते बेरुजु फर्स्योट तथा फरफारख गर्न निर्देशन जारी गरेका थिए ।
सोही क्रमलाई निरन्तरता दिँदै बिहीवार बेरुजु फरर्याैट तथा सम्परीक्षण कार्य खुला गरी वित्तीय अनुशासन काय गर्न लेखा उत्तरदायी अधिकृतहरूलाई ६ बुदें निर्देशन जारी गरेका हुन् ।
काफ्लेले आजै प्रधानमन्त्री समक्ष बिदाइ भेट गरेसँगै उक्त निर्देशन जारी गरेका हुन् । जसबाट सबै लेखा उत्तरदायी अधिकृतहरूलाई बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्यमा प्राथमिकता दिन प्रेरित गर्दै आर्थिक अनुशासन कायम गर्न गराउन सम्बन्धित पक्षलाई प्रोत्साहन गर्ने उनको काफ्लेको विश्वास छ ।









