नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले १३ अर्ब ऋण दिने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले १३ अर्ब ऋण दिने


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । बहुपक्षीय ऋणदाता संस्था विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३० करोड रुपैयाँ) ऋण दिने भएको छ।

त्यसैगरी, बैंकले नेपालका लागि ३८ लाख ४० हजार अमेरिकी डलर ९करिब पाँच अर्ब १० करोड रुपैयाँ० अनुदान पनि दिने भएको छ। यस सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ।

नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट यो ऋण र अनुदान आउन लागेको हो। स्वास्थ्य आपत्कालीन पूर्व तयारी तथा प्रतिकार्य कोषका लागि अनुदानको रकम खर्च हुनेछ। विश्व बैंकसँग यस सम्बन्धमा विद्युतीय रूपमा हस्ताक्षर गरिएको छ।

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौताहरूमा अर्थ सचिव कृष्णहरि पुष्कर र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले हस्ताक्षर गरेका छन्। यी सम्झौताहरू अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिणएशियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिने विश्व बैंकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस