काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (मंगलबार) दोहोरो अङ्कले बढेको छ। आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर १ हजार ९८५ दशमलव ४३ अङ्कमा कायम भएको हो।
नेप्सेका अनुसार विभिन्न २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिदबिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक ३ दशमलव २१ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक १ दशमलव ४८, वित्त १ दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ।
जीवन बीमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ।
शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ। कम्पनीको शेयर मूल्य ८ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार ६९१ रुपैयाँ बराबरको २ लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ।