समाजवादी मोर्चा गठनले देउवाजी खुसी हुनुभएको छ : माधव नेपाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

समाजवादी मोर्चा गठनले देउवाजी खुसी हुनुभएको छ : माधव नेपाल


१० असार २०८०, आइतबार


काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका छन् ।

‘काँग्रेस सभापति देउवाजी मोर्चा गठनले दुखी हुनु भयो भनेर गरिएको प्रचारमा अलिकति पनि सत्यता छैन, ’अध्यक्ष नेपालले भने, ‘मलाई काँग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।’

गृह जिल्ला रौतहट पुगेका नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औँ नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको टिप्पणी गरेका थिए ।

साथै काँग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।

‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ‘नीद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस