पोखरामा यती विमान दुर्घटनाको २ वटा शव भेटिएन अझै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोखरामा यती विमान दुर्घटनाको २ वटा शव भेटिएन अझै


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोँचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। माघ १ गते आइतबार बिहान १०ः३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर विमान पोखराको लागि उडेको थियो । दुर्घटनामा १५ विदेशीसहित सबै ७२ जनाको मृत्यु भयो ।

दुर्घटनामा परेका यात्रुमध्ये २० जनाको शव उनका आफन्तले पोखरामै बुझे ।

त्यसको दुई दिनपछि ५० जनाको शव काठमाडौँ ल्याइयो र आफन्तलाई जिम्मा लगाउने प्रक्रिया सुरु भयो । तर, त्यसमध्ये पनि ६ जनाको शव पहिचान गर्न कठिन भएपछि डिएनए परीक्षण गरी आफन्तलाई बुझाइयो।

विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार समेत भइसक्यो ।

त्यसमध्येका १५ जना विदेशी नागरिकको शव पनि सम्बन्धित देशका मृतकका आफन्तले बुझेर लगिसके ।

तर, दुर्घटनामा परेकामध्ये पर्वतका ४० वर्षीय युवराज शर्मा र उनका ४ वर्षका छोरा बेबिन शर्माको शव भने अझै भेटिएको छैन।

दुर्घटनामा शर्माको आमा ६३ वर्षीय जमुना शर्मा र १३ वर्षीय छोरीको समेत मृत्यु भएको थियो।

दुर्घटना भएको जहाजमा शर्माको एकै परिवारका चार जनाको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस