काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट नेपालमा तीन सातामा तीन महत्त्वपूर्ण भ्रमण हुँदैछन् । यो संयोग नै हुनुपर्छ, नेपालमा महिला परराष्ट्रमन्त्री नियुक्त भएयताका यी तीन उच्च तहका अमेरिकी भ्रमण नेतृत्वकर्ता सबै महिला नै छन् ।
आगामी फेब्रुअरी १४ मा नेपाल आउन लागेकी अफ्रिन अख्तर अमेरिकाकी डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ स्टेट हुन् । उनी दुई दिने भ्रमणका लागि काठमाडौँमा हुनेछिन् । उच्च तहको स्रोतका अनुसार उनले कूटनीति र सार्वजनिक क्षेत्र तथा विकास सहायता परियोजनाकै प्रगतिमा चासो राख्नेछिन् ।
अहिलेअमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर नेपालको दुई दिने भ्रमणमा छिन् । युसएआईडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिँदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पावलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारी मात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा यो आसन्न भ्रमणलाई उच्च महत्त्वका साथ हेरिएको छ ।
युएसएआईडीका अनुसार उनले राजनीतिक दलका उच्च नेता, नागरिक समुदाय लगायतसँग भेट्ने छिन् ।
कूटनीतिक स्रोतका अनुसार यो नियमित किसिमको भ्रमण हो । तर पछिल्ला वर्षमा एमसीसी, इन्डो प्यासिफिक स्ट्र्याटेजी लगायतका मुद्दाले नेपालका नागरिकहरूमा विभिन्न किसिमका तरङ्गहरू उत्पन्न गरेका छन् । चीनले बीआरआई अघि बढाएसँगै यहाँ भूराजनीतिक टक्कर हुन सक्ने आकलन चलिरहेका बेला सामन्थाको भ्रमण भएको हो ।
युएसएआईडीले वक्तव्यमा सामन्थाको भ्रमणलाई ७५ वर्षयताको अमेरिका–नेपालका सरकार तथा जनताबीचको सम्बन्धलाई अझै बढाउनका लागि गरिन लागेको प्रयास भनी अर्थ्याएको छ ।
सामन्था आउने तयारीका लागि भर्खरै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आएर फर्केकी थिइन् । त्यसअघि मानवअधिकार मामिलासम्बन्धी उपमन्त्री उज्रा जियासमेत गत जेठमा आएर फर्केकी थिइन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले चलिरहेका भ्रमणहरू नियमित प्रकृतिका भएको टिप्पणी गरिन् ।







