काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नभएसम्म संविधानको पालना अनिवार्य रहेको बताएका छन्।
मङ्गलवार विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन नहुँदासम्म हरेक प्रावधानको पालनाका लागि सबै जना बाध्यकारी हुने बताएका हुन्।
‘सदन विघटन गर्नु सही थियो वा गलत भन्ने विषय अहिले सत्ता साझेदारको विषय होइन। तर २०७२ मा सहमतिका साथ बनाइएको संविधान परिमार्जन नहुन्जेलसम्म अनिवार्य पालनाका लागि हामी प्रतिबद्ध हुनैपर्छ,’ उनले भने।
वर्तमान सत्ता गठबन्धन संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको पालनाका लागि प्रतिबद्ध रहेको उनले बताए।
‘सत्ता गठबन्धन र सत्ता बाहिर रहेका दलहरूमा अझै पनि केही असहमति छँदै छन्। तर संविधान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रको रक्षामा प्रतिबद्ध हुने गरी साझा न्यूनतम कार्यक्रम बनाएका छौँ। त्यही कार्यक्रमले नै हामीलाई एकताबद्ध बनाएको छ,’ उनले भने।
यसअघि संसदमा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनबारे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
प्रचण्डलाई विश्वासको मत दिने बताएका देउवा र नेपालले यो विषयमा सवाल उठाएपछि जवाफ दिने क्रममा प्रचण्डले घुमाउरो शैलीमा संसद विघटन संविधानसम्मत नभएको बताएका हुन्।