काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा,जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
सम्बन्धित समाचार : ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री
उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औँ प्रधानमन्त्री भएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे-२ साढे-२ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण गर्नेछन् ।
सम्बन्धित समाचार : नयाँ प्रधानमन्त्रीको शपथ भोलि
