प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३ पुस २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नदिजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ५ जना ठेकेदारसहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका  प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । 

२०७५ मंसिरमा नदीजन्य  पदार्थ उत्खनन र सङ्कलन गर्नेबारे प्रकाशित सूचनालाई लत्त्याएर  कबोल अङ्कभन्दा घटी सम्झौता रकम कायम गरेर ठेक्का सम्झौता गरेको र सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रमा उत्खनन गर्न दिएको आयोगको अनुसन्धानबाट थाहा भएको छ । 

जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानीमा मात्र स्काभेटर प्रयोग गरेर उत्खनन गर्न सकिने भएपनि मिलेमतोमा जनप्रतिनिधिले आफूलाई नभएको अधिकार प्रयोग गरेर स्काभेटर प्रयोग अनुमति दिएको अख्तियारको आरोप छ । ठेकेदारसँग मिलेमतो गरेर ठेक्का सम्झौता गरेका कारण २ करोड ५७ लाख राजस्व कम सङ्कलन कम भएको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ५ करोड १४ लाख जरिवाना हुन मागदावी लिएको छ । 

अख्तियारले बालुवा उत्खनन्को ठेक्का लिने कम्पनी ए.एण्ड डिबी कन्स्ट्रक्सनका सञ्चालक अनिश बल, आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सलन प्रालि, भक्तपुरका सञ्चालक रामचन्द्र प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक वेद नारायण दंगाल तथा सालीनदी र दुवाकोट कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि सत्यमान लामालाई विपक्षी बनाएको छ । ३ वटा ठेक्काहरूमा सत्यमान लामाले २ करोड ४ लाख राजस्व रकम हानि गरेको आयोगको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस