काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजनीतिमा रहन्न भन्ने अवस्था आइसकेको बताएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीका सबै सिद्धान्त फेल भइसकेकाले विश्राम लिन सुझाव दिए ।
‘केपी ओलीले नैतिकताका आधारमा म अब राजनीतिमा रहन्न भन्ने अवस्था भइसक्यो’ प्रचण्डले भने, ‘तर, उहाँ मान्न तयार हुनुहुन्न । उहाँको सबै सिद्धान्तहरू असफल भइसकेका छन् । नेपालमा संविधानसभा हुन सक्दैन । समानुपातिक समानुपातिक हुँदैन । गणतन्त्र हुनुहुँदैन भन्ने थियो । उहाँको गोरु गाढावाला सिद्धान्त असफल भइसक्यो ।’
अहिले देशमा दुईवटा गठबन्धन भएपनि आफूहरूको खुला र पारदर्शी तरिकाले गठबन्धन बनाएको प्रचण्डले बताए । ‘हामी संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि गठबन्धन बनाएका छौँ’ प्रचण्डले भने, ‘अर्को पनि गठबन्धन केपी ओली नेतृत्वमा छ । उनीहरू गठबन्धन भन्दैनन् गर्छन् गठबन्धन । त्यस गठबन्धनमा राजावादी, राजतन्त्र फर्काउने, देशको एकता खल्बल्याउने, दक्षिणपन्थी र पश्गामीहरुको गठबन्धन छ ।’ केपी नेतृत्वको गठबन्धनले संविधान मिच्ने र च्यात्ने कुरा गर्ने गरेको प्रचण्डले बताए ।