काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा स्थानीय चुनावमा बालेन शाहले ल्याएको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका छन्।
सोमबार काठमाडौंमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको बताएका हुन्।
‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दै छौँ,’ प्रचण्डले भने,‘त्यही सेन्टिमेन्ट ल्याएर तपाईँहरूले सोच्दै नसोचेको मान्छे ल्याउने सोच छ मेरो पनि। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, केहीमा पनि छैन। हामी सबैले साथ दिन सक्ने मान्छे।’
त्यस्ता मान्छे उम्मेदवार भए भने काठमाडौँमा माओवादीले २-३ सिट जित्न सक्ने उनले दाबी गरे।
‘२-३ सिट जित्यौँ भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौँ,’ प्रचण्डले भने।
२०७४ को चुनावमा काठमाडौं उपत्यकामा माओवादीले एक सिट मात्र जितेको थियो।