काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारका काम रोकिएका बताएकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक विस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् ।
उनले सहरभित्र र बाहिरको लागि छुट्टाछुट्टै योजना बनाएर सडक विस्तार गर्नुपर्ने बताइन् । सबै मन्त्रालयसँग छलफल गरेर सहरभित्र र बाहिरको सडक विस्तारको योजना मन्त्रालयले बनाएको मन्त्री झाँक्रीको भनाइ छ ।
उनले कुन ठाउँमा इकोनोमिक जोइनिङहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
मन्त्री झाँक्रीले वाग्मती, विष्णुमतीजस्ता काठमाडौँका नदीमा जलचरको जीवन नै नरहेको भन्दै यसलाई व्यवस्थित र सफा गर्नुपर्ने बताइन् । उनले जनता आवासमार्फत संघीय सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।