काठमाडौँ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले अबको तीन वर्षभित्र रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सन् २०१५ देखि शाहीकै नेतृत्वमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान सुरु भएको हो । फाप्लाको प्रचारप्रसारका लागि पछिल्लो संस्करणको धनगढी प्रिमियर लिगसमेत फाप्लाकै निर्माणाधीन मैदानमा आयोजना गरिएको थियो ।
उनले भने, ‘सङ्घीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुरुवाती बजेट थोरै भए पनि बहु वर्षीय परियोजना भएको हुनाले बजेटमा समस्या हुँदैन भन्ने लागेको छ । यसको निर्माण मोडल अन्य भन्दा फरक छ । यहाँ सरकारी लगानीका साथ साथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’
८ वर्ष यही फाप्लाका लागि भनेर हिँडेकाे र अबको तीन वर्षभित्र रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित पूरा समय दिने उनले बताए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई तीन वर्षका लागि विकास समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।