काठमाडौँ । यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।
नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो।
नेपाल ३ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ। थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ। थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ। थाइल्याण्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ।