बुटवल । नेपालका प्रथम शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।
प्रतिष्ठानले बिहीबार (आज) बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो ।
प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्याएर प्रथम शहीद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम शहीद बताउनु आश्चर्यजनक र शङ्कास्पद भएको बताए ।
उनले भने, ‘लखन थापालाई प्रथम शहीद घोषणा गरेर हुलाक टिकट प्रकाशन भयो, पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि आइसक्यो । लखन थापा प्रथम शहीद नभएको भए ओली आफैँ प्रधानमन्त्री हुँदा खारेज गर्नुपर्थ्यो, अहिले जथाभाबी बोल्नुले मगर समुदायमाथि अपमान भएको छ ।’
मगर सङ्घका अगुवा जनक थापा मगरले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए मगर समुदायले एकीकृत आन्दोलन थाल्ने बताए ।
ओलीले गत १८ गते काठमाडौंमा पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी बोलेको विरोधमा केही दिनयता रुपन्देहीमा दिनहुँ आन्दोलन भइरहेको छ ।