काठमाडौँ । नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनीत भएका छन् ।
प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।
प्रदेश कार्य सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा छ सदस्य मनोनीत गरेका छन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्र जङ्ग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनीत भएका छन् ।
प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदहरूमा मनोनीत गरिएको महामन्त्री रोकायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।