सप्तरी । कथित बोक्सीको आरोपमा फरार रहेका सप्तरीको राजगढ गाउँपालिका–२ का रामबिलास यादवलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ ।
खोजतलासका क्रममा ११ वर्षदेखि फरार रहेका आरोपितलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
प्रनाउ काफ्लेका अनुसार पक्राउ अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि सोमबार नै राजविराज कारागार पठाइएको छ ।
सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते तीन महिना कैद सजाय र १० हजार जरिवाना ठहर हुने फैसला गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत राजविराजको इजलासले विसं २०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो ।