चितवनमा संक्रमण बढेपछि नियन्त्रण र उपचारको तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चितवनमा संक्रमण बढेपछि नियन्त्रण र उपचारको तयारी


२७ पुस २०७८, मंगलबार


चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् ।

प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।

अस्पतालहरूले पनि सङ्क्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताए । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन् । उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए।

अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उनले विश्वास दिलाए । भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड सङ्क्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले सङ्क्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए ।

उनले पछिल्ला दिनमा सङ्क्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए । देवकोटाले भने, ‘हामीले आवश्यकतानुसार शय्याको सङ्ख्या बढाउँदै लैजान्छौँ ।’

कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको सङ्ख्या बढाइएको जानकारी दिँदै देवकोटाले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिए । उनले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिए ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)का आवासीय निर्देशक डा मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याइएको १२० शय्या अहिले पनि तयारी अवस्थामा राखिएको बताए ।

उनले भने, ‘हामीले कोभिड उपचार वार्डमा अरु बिरामी राखेका छैनौँ, ती शय्या अहिले पनि अलग्गै राखिएको छ ।’ आवश्यकतानुसार शय्या बढाउन सकिने प्रधानको भनाइ छ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने उनले बताए । अस्पतालले पछिल्लो समय पिसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ । विगत दुई महिनादेखि पिसीआर मेसिन सञ्चालनमा आएको प्रधानले जानकारी दिए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले सङ्क्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको बताए । सङ्क्रमण फैलन नदिन आवश्यक जनचेतना जगाउने काम कार्यालयले गरिरहेको छ ।

हाल चितवनका अस्पतालमा १३ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना सघन उपचारकक्षमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस