‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल


१२ कार्तिक २०७८, शुक्रबार


कास्की । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, ‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाहिँ सबै चुनाव एकै पटक गराउनुपर्छ भन्ने हो ।’ निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे ।

‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिस्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला । त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।’ उनले भने ।

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे ।

एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस