सबै नागरिकसम्म खोप पुर्‍याउन युद्धस्तरमा लाग्ने मुख्यसचिवको प्रतिबद्धता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सबै नागरिकसम्म खोप पुर्‍याउन युद्धस्तरमा लाग्ने मुख्यसचिवको प्रतिबद्धता


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई पुरा गर्न युद्ध स्तरमा अघि बढ्ने बताएका छन् ।

बिहीबार प्रशासन विशेष प्रतिनिधिसँगको भेटमा मुख्य सचिव वैरागीले सबै नागरिकलाई खोप लगाउनु नै अहिलेको प्रमुख दायित्व भएको र सरकारले खोपलाई नै विशेष प्राथमिकता दिएको अवस्थामा कर्मचारी संयन्त्रबाट सो कार्यान्वयनमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाएका हुन् ।

‘अहिलेको हाम्रो सबैभन्दा ठुलो चुनौती भनेको खोप आयात गर्ने र त्यसलाई व्यवस्थित गर्ने हो’ मुख्यसचिव वैरागीले भने, ‘त्यसमा पनि सरकारले अवधि नै तोकेर अघि बढी रहेको सन्दर्भमा त्यसलाई पुरा गर्न सबै पक्ष उत्तिकै जिम्मेवारीका साथ लाग्न जरुरी छ ।’

खोप आयात गर्नु मात्रै ठुलो नभई त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा अझ बढी महत्त्वपूर्ण रहने भएकोले त्यसतर्फ पनि आफूले विशेष ध्यान दिएको उनको भनाई छ ।

भौगोलिक अवस्थादेखि लिएर विभिन्न उमेर समूह तथा वैदेशिक रोजगारमा जानेहरूका लागि समेत उतिकै ध्यान दिइने मुख्यसचिव वैरागीको भनाई छ । उनले खोप सहज र प्रभावकारी गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निरन्तररुपमा समन्वय गर्दै सहजीकरणमा सघाइरहेकोसमेत बताएका छन् ।

निजामती प्रशासन सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निरन्तर प्रयासहरू भइरहेको कार्यालयले जनाएको छ । मुख्यसचिव वैरागीले जिम्मेवारी सम्हालेसँगै सानादेखि ठुला दर्जन बढी सुधारहरू भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले बताए । देख्दा र सुन्दा साना र सामान्य लाग्ने भए पनि त्यसले सेवा प्रवाहमा ठुलो असर पार्न सक्ने भएकोले पनि त्यस्ता विषयमा क्रमशः सुधारहरू भइरहेको उनको भनाई छ ।

मुख्यसचिव वैरागीकै सक्रियतामा नेपाल सरकारका सचिव तथा प्रदेशका प्रमुख सचिव सम्मिलित सचिव बैठक पुनः मासिक रूपमा राख्न थालिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूमा कार्यरत विशिष्ट तथा प्रथम श्रेणीका अधिकृतहरू सम्मिलित विस्तारित उच्च व्यवस्थापन समूहको बैठक मासिक रूपमा गर्ने गरिएको छ ।

यसैगरी केन्द्रीय अनुगमन समितिको बैठक नियमित रूपमा राखी सुशासन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन पहल गरिएको छ । कोभिड १९ को व्यवस्थापनका लागि सहजीकरण समितिको बैठक नियमित रूपमा राखी अन्तर निकाय समन्वय भएको छ ।

कोभिड-१९ व्यवस्थापनका लागि गरिएका कामकारबाहीहरू नियमित रूपमा सार्वजनिक गर्ने गरिएका छन् भने कोभिड १९ को व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरूको प्राप्ति, उपयोग तथा खोप आपूर्ति व्यवस्थापनका लागि प्रशासनिक समन्वय तथा कूटनीतिक माध्यमको परिचालन गरिँदै आएको छ । मुख्यसचिव वैरागीकै सक्रियतामा डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि सक्रियता बढाएको छ ।

सिँहदरवारभित्रैका एक मन्त्रालयबाट अर्को मन्त्रालयसम्म पत्र पुग्न महिनौँ लाग्ने समस्याको अन्त्य भएको प्रवक्ता राउतले बताएका छन् । कार्यालयका पत्राचारहरू पूर्ण रूपमा अफिस अटोमेशन प्रणालीबाट गर्न सबै निकायहरूलाई समन्वय गरी सो कार्यमा प्रभावकारिता ल्याएको उनको भनाई छ ।

अन्तर प्रदेश तथा अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउनुका साथै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूको समन्वयका लागि पहल कदमी लिइएको पनि उनले बताए ।

राउतका अनुसार एकाइसौं शताब्दीको चुनौतीहरूलाई सामना गर्न सक्ने पेसागत तथा प्रतिस्पर्धी निजामती सेवाको विकासका लागि जनशक्ति प्रक्षेपण तथा व्यवस्थापन योजना तयार गरिरहेको छ भने आर्थिक समृद्धिका लागि सकारात्मक प्रभाव पार्ने, सेवा प्रवाहमा प्रभावकारिता ल्याउने तथा मुलुकको साख अभिवृद्धि गर्ने कार्यमा साझा धारणा बनाएर योजना तय गर्ने कार्य अघि बढिरहेको छ ।

मुख्यसचिव वैरागीले केही भावी योजना समेत अघि सारेका छन् । जसमा कोभिड-१९ को उपचार, रोकथाम र नियन्त्रणमा समन्वय गर्ने, सहजीकरण गर्ने र खोज व्यवस्थापनलाई प्रभावकारीरुपमा जनस्तरमा पुर्‍याउने कार्यमा यथेष्ट ध्यान दिन मन्त्रालय, प्रदेश र पालिकास्तरमा थप समन्वय गरी वर्तमान सरकारको नीतिलाई कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेका छन् ।

यस्तै दिगो विकास लक्ष्यहरू हासिल गर्न, अति कम विकसित मुलुकबाट माथि जान तथा देशले लिएको दीर्घकालीन लक्ष्य हासिल गर्न विविध क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको अनुमान गरी सोको लागि जनशक्ति विकास योजना तयार गर्ने, देशको आर्थिक तथा सामाजिक परिवेश अनुरूप निजामती सेवाले गर्नुपर्ने कामहरूको प्राथमिकीकरण गरी कामकारबाही गर्न जोड दिने रहेका छन् ।

यसैगरी निजामती कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र मनोबल उच्च राख्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका लागि पहल गर्ने, निजामती सेवालाई नतिजामुखी, तटस्थ र निष्पक्ष बनाउने गरी कानुनी तथा व्यवस्थापकीय सुधार गर्न पहल गर्ने र प्रशासनिक सुधारका लागि सरोकारवाला सबै पक्षहरूसँग छलफल गरी काम अघि बढाउने योजना रहेको मुख्यसचिव वैरागीले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस