सेवा विस्तार भत्तामा अन्यायपूर्ण नियम बनाएको भन्दै ट्रमा सेन्टरका चिकित्सकको असन्तुष्टि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सेवा विस्तार भत्तामा अन्यायपूर्ण नियम बनाएको भन्दै ट्रमा सेन्टरका चिकित्सकको असन्तुष्टि


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीले खाइपाइ आएको सेवा विस्तार भत्ताको व्यवस्थामा अन्यायपूर्ण नियम बनाएको भन्दै असन्तुष्टि जनाएका छन्।

अस्पतालका विभागीय प्रमुख तथा नर्सिङ इन्चार्जहरूले अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफूहरूले पाउनुपर्ने खाइपाइ आएको सेवा विस्तार भत्ता सरकारले जारी गरेको निर्देशन अनुसार दिन समेत माग गरेका छन्।

उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) को नियम अनुसार खाइपाइ आएको सेवा विस्तार भत्ता २०७७ साल साउनदेखि कात्तिकसम्म अन्यायपूर्ण तरिकाले वितरण गरिएको बताएका छन्। न्याम्सको नियममा भएको व्यवस्था नै परिमार्जन गर्दै भत्ता वितरणमा अन्याय गरेको उनीहरूको आरोप छ।

कोरोना महामारीमा समेत आफ्नो र परिवारको ज्यान जोखिममा राखी बिरामीको सेवामा खटिए पनि स्वास्थ्यकर्मीहरूलाई विभेदपूर्ण भत्ता वितरण गरी मनोबल गिराएको उनीहरूको गुनासो छ।

सरकारले कोभिड जोखिमको बेलामा जारी गरेका निर्देशन अनुसार नै आफूहरूले पनि काम गरेको भए पनि उक्त अवधिमा सेवा विस्तार भत्तालाई घण्टाको हिसाब गरी अन्यायपूर्ण तरिकाले वितरण गरिएको उनीहरूको भनाई छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उक्त निर्णयलाई यथाशीघ्र सच्याई निशर्त रूपमा भत्ता उपलब्ध नगराए सेवा प्रवाह नै अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन्।

उनीहरूले स्वास्थ्यकर्मीलाई दिँदै आएको भत्तामा गरिएको अन्यायपूर्ण निर्णय निशर्त ३ दिनभित्र सच्याउन माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस