जनकपुर । प्रदेश नं. २ को प्रदेशसभा सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि आज बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ ।
मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको जानकारी दिएको छ ।
तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका एक अधिकारीले जानकारी दिए ।
झण्डै ६ महिनापछि पाँचौँ अधिवेशन गत चैत ३० गते सुरु भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नेबारे प्रस्ताव आह्वान गरेको थियो । वैशाख १० गते बसेको प्रदेशसभा बैठकमा राजधानीका विषयमा दर्ता भएको प्रस्तावमाथि छलफल भयो ।
आज बस्ने भनिएको बैठकमा प्रदेशको नामकरण विषयमा छलफलको कार्यसूची थियो । अब भने प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ ।