धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा


३० चैत्र २०७७, सोमबार


गोरखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेर अनियमितता गरेको उजुरीपछि अनुसन्धान गर्दा सरकारी रकम हिनामिना भएको पाइएकाले उनिहरुविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

पाण्डेसहित तत्कालीन कार्यरत इन्जिनियर प्रविन वस्ती र सब–इन्जिनियर राम नारायण चौधरीले भुक्तानी दिने चरणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी झुट्टा बिल भरपाई पेस गरेका थिए । यस्तै स्थलगत रूपमा गई नाप जाँच नगरेरै गलत नापी किताब प्रतिवेदन तयार गरेको, कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजात सदर गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले बताएका छन् ।

रिसालका अनुसार आयोजना उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले उक्त आयोजना निर्माण गर्दा कामभन्दा बढी मूल्याङ्कन गरेर झुट्टा बिल भरपाई बनाई, नभएको कामको कार्य सम्पन्न प्रतिवेदन तयार गरी बढी रकम भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको पुष्टि भएको हो ।

यस्तै आयोजनासँग सम्बन्धित वडा नम्बर ७ का अध्यक्ष सूर्यमान गुरुङले आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानि नोक्सानी गर्ने मनसायले बदनियत राखी कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन तयार गरेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस