बाह्रौँ जनगणनामा पाल्पाका ४८६ जनाले रोजगार पाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाह्रौँ जनगणनामा पाल्पाका ४८६ जनाले रोजगार पाउने


१५ चैत्र २०७७, आइतबार


पाल्पा । राष्ट्रिय जनगणना २०७८ मा पाल्पा जिल्लाका चार सय ८६ जनाले रोजगारी पाउने भएका छन् । कूल ३९२ जनाले गणकमा र ९४ जनाले सुपरिवेक्षकमा रोजगारी पाउने जनगणना कार्यालय पाल्पाका जनगणना अधिकारी भविश्वर घिमिरेले जानकारी दिए ।

पाल्पाका १० वटै स्थानीय तहमा गणक र सुपरिवेक्षक परिचालन हुने चैत्र १३ गते  तानसेनमा सम्पन्न जनगणना सचेतना गोष्ठीमा जानकारी गराइएको छ । सुपरिवेक्षकको २ महिना र गणकको १ महिनाको नियुक्ति हुने छ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी भविश्वर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए। घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमा जनगणनाको इतिहास, कानुनी व्यवस्था, आवश्यकता र औचित्य, जनगणना गर्नुको उद्देश्य, उपयोगका क्षेत्रहरू, जनगणनाले दिने विवरण र सूचकहरूको बारेमा वृहत् विषय समावेश गरिएको थियो । जम्मा ३ प्रकारका प्रश्नावली प्रयोग गरिने यस जनगणनामा खालि घरको पनि गणना गरिने छ ।

मूलतः जनसाङ्ख्यिक, शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य सम्बन्धी विवरणहरू मुख्य प्रश्नावलीमा समावेश गरिएको छ भने सामुदायिक प्रश्नावली सबै वडा कार्यालयहरूबाट सुपरिवेक्षकले भर्ने छन् ।

राष्ट्रिय जनगणना २०७८ नेपालको जनगणनाको इतिहासमा बाह्रौँ र संघीय गणतान्त्रिक नेपालको पहिलो जनगणना पनि हो। यस जनगणनामा पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम वि.सं. २०७८ साल वैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन र मुख्य प्रश्नावली फाराम वि.सं. २०७८ साल जेष्ठ २५ देखि २०७८ आषाढ ८ सम्म १५ दिन भरिने र दोस्रो चरणमा सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडा स्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरू सङ्कलन गर्ने विषयमा जनगणना अधिकारीले स्पष्ट पारेका थिए ।

जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो। विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहका समग्रमा हामी कति छौँ ? कहाँ छौँ ? र कुन अवस्थामा छौँ ? भन्ने थाहा पाउनु पनि हो भने प्राप्त विवरणहरूका आधारमा नै राज्यले आम नागरिकहरूको हितका लागि अब के गर्नुपर्छ ? कहिले गर्नुपर्छ ? र कसरी गर्नुपर्छ ? कहाँ गर्नुपर्दछ ? भन्ने आधारसँग जनगणनालाई जोडिएको थियो।

जनसङ्ख्या व्यवस्थापनका लागि आवश्यक आवधिक जनसाङ्ख्यिक तथ्याङ्क उपलब्ध गराउने, जनसङ्ख्याको प्रवृत्ति र विशेषताहरू स्वरूप र ढाँचाको बारेमा जानकारी गराउने, लोक कल्याणको लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न जनसाङ्ख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउने र दिगो विकास लक्ष्यका लागि आवश्यक पर्ने सूचकहरू उपलब्ध गराउनु यस जनगणनाको उद्देश्य रहेको देखिन्छ भने संघीय संरचनामा पहिलो जनगणना, पूर्णगणना, कानुन जारी (राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६), सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, स्थानीय तह र वडाअनुसार नतिजा प्रकाशन, ९ महिना भित्र तथ्यांकीय प्रतिवेदन सार्वजनिक, संघ, प्रदेश, स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्र बिच समन्वय, सहकार्य र सहयोगको प्रावधानहरू यस जनगणनाका मुख्य नयाँ विशेषताहरू हुन् ।

दर्ता नगरिएका तथा तलबी कामदार नभएका स साना घरेलु व्यवसाय तथा घर परिवारका आम्दानी हुने र नहुने सबै आर्थिक क्रियाकलापलाई समेटिएको जानकारी घिमिरेले गराएका थिए। जनगणनामा बसाइसराइ र विदेश अनुपस्थितलाई पनि निकै महत्त्वका साथमा समावेश गरिएको छ भने कारण र समयको कुराहरू पनि समावेश छन् ।

वि स २०७७ चैत्र १ गते ४ महिनाको कार्य जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालय पाल्पाको स्थापना भएको हो ।

जिल्ला जनगणना कार्यालय र अन्य ४ वटा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत वैशाख १ देखि रामपुर र निस्दी हेर्ने गरी रामपुरमा १, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरी ताँहुमा १, तानसेन, तिनाउ र वगनासकाली हेर्ने गरी तानसेनमा १ र रिब्दिकोट र रैनादेवी हेर्ने गरी अमलावासमा १ स्थानीय जनगणना कार्यालय रहने छन्।

तीन वटै तहसँग समन्वय गरेर अगाडी बढ्ने जिल्ला जनगणना अधिकारीले जनाएका थिए। करिब ७० जनाको उपस्थिति रहेको सचेतना कार्यक्रममा विभिन्न निकायहरूबाट सहभागिता भएको थियो ।

पाल्पा रेडक्रसका अध्यक्ष बुद्धि प्रसाद शर्मा, तिनाउ गापाका अध्यक्ष ओम घर्ती मगर र तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी देवी पाठकले स्थानीय तहबाट जनगणनालाई पूर्ण सहयोग र सहजीकरण रहने प्रतिबद्धता व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस