काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले निर्वाचन आयोग सँग छलफलका लागी केही दिनको समय मागेका छन् ।
निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षसहित अध्यक्षले तोकेका नेताहरूलाई आयोगमा छलफलका लागि बोलाएको थियो ।
१८ गतेसम्म आफ्ना दुवै अध्यक्ष काठमाडौँ बाहिर रहने हुँदा छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने दाहाल-नेपाल समूहले बताएको छ ।
आयोगले बोलाएको बैठकमा १८ गते भन्दा पछाडीको उपयुक्त समयमा बैठक बोलाउन लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर अनुरोध गरेको पत्र बुझाएर बाहिरिएका छन् । ओली समूहका नेताहरु अहिले पनि निर्वाचन आयोगमै छन् ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल तथा निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल गर्न आज दुवै समुहलाई बोलाइएको थियो ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।







