काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णय लिएर बुधबार नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर र मंगलबारको बैठकको निर्णय लिएर आयोग पुगेको बताए । आयोगमा नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । पोखरेलले केन्द्रीय कमिटीको करिब ६६ प्रतिशत सदस्यको हस्ताक्षर आफूहरुसँग रहेको दावी गरे ।
सरकारले संसद विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ । नेकपाका दुवै समूहले छुट्टाछुट्टै बैठक राखेर आ–आफ्नो समूहलाई आधिकारीक दावी गरेका छन् ।
अध्यक्ष ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह आधिकारिक भएको दावी गरेको छ। ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कमिटीमा ५ सय ५६ सदस्य थप गरेको छ । केन्द्रीय कमिटी विस्तार गरिएको नामसहितको विवरण मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।