कोराना जितेकालाई पुष्पगुच्छा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोराना जितेकालाई पुष्पगुच्छा


१८ भाद्र २०७७, बिहिबार


रुपन्देही । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेसँगै कतिपय पालिकामा कोरोना संक्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल, हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पीताम्बर भण्डारीसहित टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिए ।

गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए ।

आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेकामा पोखरेलले सबैप्रति आभार व्यक्त गरे ।

उपमहानगर सदस्य शर्माले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सतर्क रहन आग्रह गरे । ‘सतर्क रहँदारहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौसला बढाउन जरुरी छ’, उनले भने, ‘सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्नाका लागि टोलको यो प्रयास पनि सह्रानीय छ ।’

आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्यलाभको कामना गर्दा थप हौसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोबलका साथ स्वास्थ्यलाभ गर्न सफल भएको अनुभव सुनायो । पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो ।

पोखरेल परिवारले स्वास्थ्यलाभ गरे पनि अर्को परिवारका सदस्य भने होम आइसोलेशनमै हुनुहुन्छ । टोलमा सङ्क्रमित भएका परिवारको दैलामै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताए ।

टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखून् भन्ने उद्देश्यले सबैलाई सचेत बनाइएको छ । ‘भोलि जोसुकैलाई पनि सङ्क्रमण हुन सक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ’, स्थानीयवासी जमुना सुवेदीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस