काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन सकिए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् रहेको भन्दै हरेक कार्यालय र कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयको मङ्गलवारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय छिर्नुअघि कर्मचारीहरूको अनिवार्य तापक्रम जाँच, मास्क लगाउन, स्यानिटाइजर प्रयोग, रुघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई घरमै आराम गर्न लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन अनुरोध गरेका हुन् ।
कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन भन्दै चैत ११ देखि जारी गरेको लकडाउन यही ६ गते मङ्गलवार मध्यरात अन्त्य गरिएको थियो । नेपालमा मङ्गलवारसम्म सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ५३ जना सङ्क्रमित थपिएका छन् ।