मास्क नलगाउनेबाट १२ हजार असुल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मास्क नलगाउनेबाट १२ हजार असुल


१३ श्रावण २०७७, मंगलबार


सप्तरी । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले आजदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो ।

हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति रु १०० जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ । जसबापत रु १२ हजार ३०० राजस्व सङ्कलन हुने प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

मास्क नलगाई सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई दुई दिन सचेत गराइएपछि सरकारको निर्णय अवज्ञा गर्नेलाई आजदेखि नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

गल्ती गर्नेलाई कानूनअनुसार जरिवाना गरिए पनि कोरोना सङ्क्रमणको जोखिममा पु¥याउन नहुने भन्दै स्थानीय वुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनु अघि निसङ्क्रमण गर्ने, मास्क उपलब्ध गराउने बताएका छन् । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने भन्दै नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस