कास्कीमा पक्षीजन्य वस्तु ओसारपसारमा रोक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कास्कीमा पक्षीजन्य वस्तु ओसारपसारमा रोक


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


पोखरा । जिल्ला पशु सेवा कार्यालय कास्कीले जिल्लामा वर्डफ्लुको सङ्क्रमण रोक्न प्रभावकारी सुरक्षा व्यवस्था अघि बढाएको छ ।

कार्यालयद्वारा आइतवार आयोजित पत्रकाकार सम्मेलनमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा पुरुषोत्तम त्रिपाठीले पोखरा उपमहानगरपालिका–१८ माटेमसिनाको मनकामना र भगवती टोलमा वर्डफ्लुको सङ्क्रमण देखिएलगत्तै उक्त क्षेत्रमा सङ्क्रमित पक्षी एवम् पक्षीजन्य वस्तुलाई नष्ट गर्नुको साथै नियन्त्रणको लागि चिकित्सकको टोलीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताए । उनले हालसम्म उक्त क्षेत्रमा १२२ हाँस, एक हजार ४७१ ब्रोइलर कुखुरा, ५६९ स्थानीय जातका कुखुरा, ११६ परेवा तथा बटाइ, ८१९ किलो कुखुराको दाना, ६५ किलो मासु, ३७ बोरा कुखुराको सुली र ३०० गोटा अण्डा नष्ट गरिसकिएको बताए ।

वर्डफ्लुको सङ्क्रमण फैलन नदिन मुख्य प्रभावित क्षेत्र माटेमसिना र आसपासमा नष्ट गरिएका पक्षी र पक्षीजन्य वस्तुलाई खाडल खनेर पुर्ने, सरसफाइका लागि चुना छर्ने र वरिपरिको वातावरणमा ४२ दिनसम्म ओसारपोसार बन्द गरिनुका साथै नियमित निगरानी र अन्य आवश्यक व्यवस्था गरिएको प्रमुख त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार मुख्य प्रभावित क्षेत्रबाहेक पोखराका १ देखि १८ वडाभित्रमा यही फागुन मसान्तसम्म पक्षीजन्य वस्तु वा पदार्थ ओसारपसारमा पनि रोक लगाइएको छ ।

जिल्ला जनस्वाथ्य कार्यालयका सूचना अधिकृत डा ठगेन्द्रप्रसाद अर्यालले मानिसमा वर्डफ्लुको सङ्क्रमण नहोस् भनेर जिल्ला वर्डफ्लु नियन्त्रण प्राविधिक समितिले उच्च सतर्कताका लागि आफ्नो प्रभावकारी सुरक्षा व्यवस्था अघि बढाएको बताए । उच्च ज्वरो आउने, रुघाखोकी र लगातार सिँगान बगिरहने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै उनले पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । रासस

प्रतिक्रिया दिनुहोस