काठमाडौँ । पत्रकारलाई थप पासको आवश्यकता नपर्ने भएको छ ।
सुरुमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराउने भनिए पनि सबैलाई पास वितरण गर्न कठिनाइ भएपछि सूचना विभागको प्रेस पासले काम गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।
‘जिल्ला प्रशासन कार्यालयबाट छुट्टै पास दिने भनेर केही साथीहरूलाई हिजो राति दिइयो’ प्रजिअ दाहालले भने ,’तर छोटो अवधिमा यो सबै सम्भव नभएपछि पुनः अर्को निर्णय गरेर विभागकै पासले काम गर्ने निर्णय भएको छ ।’
उक्त निर्णयसँगै पत्रकारहरूले सूचना विभागको पासले समाचार सङ्कलन गर्न पाउने छन् ।
सरकारले कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणको जोखिम बढेपछि मङ्गलवार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द ‘लकडाउन’ गरेसँगै आवतजावतमा रोक लगाइएको छ ।
यससँगै आवतजावत, सबै सवारी साधन, हवाई उडान, अत्यावश्यकबाहेकका सरकारी÷निजी कार्यालय, उद्योगधन्दा, अत्यावश्यक सेवाबाहेकका सामान बिक्री गर्ने पसल तथा स्टोरहरूलगायत बन्द हुनेछन् भने अनुमति प्राप्त सवारी साधन, सुरक्षा निकाय, प्रेसका गाडी तथा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापन औषधि तथा स्वास्थ्य उपकरण ढुवानी, उत्पादनसँग सम्बन्धित सेवा र कार्यालय मात्र खुल्ला हुनेछन् ।