काठमाडौँ । फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपालीमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
चैत ४ गते नेपाल आएकी १९ वर्षिया विद्यार्थि युरोपमा महामारी फैलिएपछि फ्रान्सबाट कतार हुँदै त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएकी थिइन् ।
नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात् एकान्तवासमा बसेकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको र उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री ढकालले बताए।
नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।
अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।
आज दिउँसो १ बजेको समयसम्म दुई लाख ९४ हजार एक सय १० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने तीमध्ये १२ हजार नौ सय ४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।