काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता हुँदै छन् । आज दिउँसो ३ः२५ बजे स्वदेश आइपुग्ने छन्
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए ।
उनले अष्ट्रियामा हुँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुईपक्षीय भेट वार्ता गरेका थिए भने जेठ १४ गते जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिएका थिए ।
उनी अष्ट्रियाको टेरोल प्रान्तको इन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा पनि सहभागी भएका थिए ।
भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज आचार्य लगायत सहभागी छन् ।