फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा


२६ चैत्र २०७५, मंगलबार


पेरिस । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत १ हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ ।

बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा ‘नाफामुलक र दिगो वृद्धि’लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ ।
फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानुनका आधारमा हटाइनेछ ।

फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिए ।

बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब १ लाख ४८ हजार कर्मचारी कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस