चौतारा । काठमाडौँबाट नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलामा पर्ने ६ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुलीको आरोहणमा निस्केको टोलीलाई यहाँ बिदाइ कार्यक्रम गरिएको छ ।
प्रथम समावेशी सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ सदस्यीय टोलीलाई आज जिल्लाको बलेफी गाउँपालिकामा नेकपा सचिवालय सदस्य अमृतकुमार वोहरा, प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरेश नेपाल, गाउँपालिकाका उपाध्यक्षलगायतले आरोहण सफलताको शुभकामनासहित बिदाइ गरे ।
त्यसैगरी आजै अपराह्न जुगल गाउँपालिकाको ढाँडे बजारमा सांसद अग्निप्रसाद सापकोटा, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलगायतको जनसमुदायले बिदाइ गरेका छन् ।
आरोहण टोलीमा पूर्वसांसद सुभाष कर्माचार्य, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पर्यटन व्यवसायी मिलन तामाङ, शर्मिला थापा तथा प्रेम गुरुङ छन् ।
काठमाडौँबाट १४५ किलोमिटरको दूरीमा पर्ने जुगल गाउँपालिका–३ गुम्बामा पर्ने उक्त हिम शृङ्खलामा पर्यटन विभागबाट हालसम्म पहिचान भएका ११ शिखरमा पर्दछ भने ६ हजार ९७९ मिटरको सबैभन्दा अग्लो ल्याङपोग्याङ पर्दछ । आरोहण टोली अधिकांश जिल्लावासी छन् । प्रथम पटक आरोहण गर्न लागेको हुँदा कति कठिन रहेछ भन्ने अनुभव बटुल्नसमेत सघाउ पुग्ने टोली नेत्री गुरुङले बताइन् ।