पर्वत । पर्वतका दुई वडालाई मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा गरिने भएको छ । फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषिगाउँका रुपमा विकास गर्न थालिएको हो । कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषिगाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषिगाउँको रुपमा विकास गर्न थालिएको हो ।
गण्डकी प्रदेशको कृषि मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमका रुपमा यो कार्यक्रम शुरु गरेको हो । नमूना कृषिगाउँ कार्यक्रमका लागि यस वर्ष १० करोड ८० लाख विनियोजन गरिएको छ । प्रत्येक नमूना कृषिगाउँलाई ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोस्रो वर्ष त्यसको ५० प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषिगाउँलाई अर्को वर्ष ५० प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषिगाउँ बनाउनका लागि खर्च गरिने भएको छ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्वतमा छनोट भएका कुर्घा र पाङमा नमूना कृषिगाउँको कार्य प्रारम्भ गरेका छन्। सभामुख अधिकारीले कृषक, सरकार र कृषि वैज्ञानिकको साझेदारी प्रयत्नबाट नमूना कृषिगाउँ निर्माण गर्दै अगाडि बढ्ने बताए । रैथाने जातका तरकारीलाई प्रवर्द्धन गर्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमले सहयोग पुग्ने बताए । उनले उक्त कार्यक्रमले कृषि उत्पादकत्वमा वृद्धि हुनुका साथै कृषको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री लम्सालले उक्त कार्यक्रममार्फत स्थानीय कृषि विकासका नवीन मोडल प्रस्तुत गर्ने प्रदेश सरकारको योजना रहेको बताए। उक्त कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा सञ्चालन गरिने जनाउँदै उनले ‘एक स्थानीय तह, एक नमूना कृषिगाउँ’ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तीमा ‘एक निर्वाचन क्षेत्र, एक नमूना कृषिगाउँ’ बनाउने लक्ष्य प्रदेश सरकारले राखेको बताए । रासस







