लमही । दाङ गढवा गाउँपालिका–३ रतनपुरका न्यूनदृष्टियुक्त चल्ली चौधरीले ९२ वर्षमा नागरिकता बनाएकी छन् ।
जिल्ला प्रशासन कार्यालयले पचाहामा सञ्चालन गरेको शिविरबाट उनले नागरिकता लिएकी हुन् ।
‘यसअघि कसैले नागरिकता बनाउन पनि भनेका थिएनन्’, उनले भनिन्, ‘यस्तो शिविर पनि आएको थिएन, त्यसैले पहिले नागरिकता लिन पाएकी थिइन् ।’ उनलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकता हस्तान्तरण गरेका हुन् । नागरिकता नहुँदा ९२ वर्षसम्म पनि वृद्धभत्ता नपाएका उनले नागरिकता पाएपछि भने वृद्धभत्ता पाइने भन्दै खुशी व्यक्त गरिन्।
दुबैआँखा नदेख्ने चौधरीले आफू एक ठाउँबाट अर्को ठाउँ हिँड्न पनि समस्या हुने भन्दै नागरिकता बनाउनसक्ने अवस्था नरहेको बताइन् । नागरिकता नपाएका तथा विकटका नागरिकलाई सहज नागरिक प्रदान गर्न जिल्लाका विकट क्षेत्रमा शिविर सञ्चालन गरेको प्रजिअ रिजालले बताए ।







