भरतपुर । चितवन प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
पूर्वी चितवनका विभिन्न क्षेत्रबाट १ हप्ताको अवधिमा प्रहरीले करीब १ लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । आज इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बरामद गरिएको मदिरा सरोकारवालाको रोहवरमा नष्ट गरेको छ ।
प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत शुरु गरेको ‘थ्रि एस’ मा आधारित १ टोल एक घण्टा अप्रेशन अभियानका क्रममा प्रहरीले मदिरा बरामदसँगै अपराध न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । सो अभियान फागुन २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रहरीले जनाएको छ । यो अवधिमा पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।
प्रहरीले राप्ती नगरपालिकाको लोथर, गढौली, प्यारीढाप, चौकीडाँडा, ब्रह्मनगर, रसौली, ड्राइभरटोल, झिरझिरे, खैरहनी नगरपालिकाको सिद्धिपुर, चैनपुर, मगनीचोक, ज्यामिरे, खरखुट्टे, कालिका नगरपालिकाको शक्तिखोर, जुटपानी, पदमपुर, खोलेसिमल, न्युरेनी, गैरीबारी चोक, लाहुरेचोक र रत्ननगर नगरपालिकाको भक्तिनी बगैँचा, बुद्धचोक, सौराहा, पिठुवा, मैनाहा, चित्रसारी तथा टाँडी बजार क्षेत्रमा अभियान सञ्चालन गरेको थियो ।
एक साताको अवधिमा १४२ लाई ट्राफिक कारवाही तथा ट्राफिक सचेतना प्रदान गरिको छ भने शङ्कास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरी अनुसान्धन गरिएको छ । अवैध तथा नियम विपरीत उत्खननमा संलग्न ११ वटा टिपर तथा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारवाहीका लागि पठाइएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
‘प्रहरीको यो अभियान निकै प्रभावकारी देखिएको छ’, उनले भने, ‘सर्वसाधारणबाट पनि यो अभियानलाई निरन्तरता दिन सुझाव आएको छ ।’ यो अभियानमा दैनिक ६० प्रहरी परिचालन भएको पनि उनले जानकारी दिए।







